२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

उदयपुरमा ठेकेदार र जनप्रतिनिधिको चर्को श्रम शोषण, श्रमदान नगरे विद्युत्को लाईन नजोडि दिने धम्की



उदयपुर । उदयपुरको रौतामाई गाउपालिकामा विद्युत प्रशारण लाईन विस्तार गर्न स्थानीय जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा चर्को चरम श्रम शोषण गरेको स्थानीयले आरोप लगाएका छन् । जिल्लाको रौतामाई गाउँपालिकामा विद्युत् प्रसारण लाईन विस्तार गर्ने ठेक्का लिएको वाईवा कन्स्ट्रक्सनले पालिकाका जनप्रतिनिधिसँग मिलेर श्रमशोषण गरेको नवराज रायमाझीले बताए । हालै वडा नम्बर ३ मा विद्युत्को लाईन विस्तार अन्तिम चरणमा पुगेको भएपनि ठेकेदार कम्पनीले जनप्रतिनिधिसँग मिलेमतो गरि स्थानीय जनतालाई जबरजस्ती सित्तैमा श्रम गराईएको पाईएको नवराज रायमाझी, खिलराज राई, विष्णु पौडेल र केदार राईलगायतले जानकारी गराए । पोल बोक्ने, पोल गाड्नेदेखि तार तान्ने सम्मको दायीत्व ठेकेदार कम्पनीमा हुन्छ । विगतमा पनि ४ नम्बर वडामा विद्युत्को पोल स्थानीय जनतालाई सित्तैमा गाड्न लगाइएको ईश्वर रायले बताए ।

त्यस्तै श्रमदान नगरे स्थानीयलाई बिजुली जडान नगरिदिने पेटि ठेकेदारले स्थानीय जनप्रतिनिधिको मौन समर्थनमा धम्किपूर्ण अभिव्यक्ति पछि आफुहरु श्रम गर्न बाध्य भएको स्थानीय गोपाल रायले बताए । यो विषयमा बुझ्न सुरेन चाम्लिङ, रवीन्द्र राई र गोपाल रायलगायतका युवाहरुको समूह नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय जानकारी गराउन पुगेका थिए । जवाफमा नेपाल विद्युत प्राधिकरणको बीएमडी मनोज सिलवालले ठेक्कामा लिएर ठेकेदारले त्यसरी श्रम शोषण गर्ने कार्य गलत भएको र यदि त्यसो गरेको पाईएमा कारबाही गर्ने बताए । बीएमडी सिलवालले त्यस्तो कार्य तत्काल रोक्न र आफ्नो जिम्मेवारी सही ढंगले पुरा गर्न वाईबा कन्स्ट्रक्सन र आयोजना प्रमुख बद्रि प्याकुरेललाई निर्देशनसमेत दिए ।

पालिकाको अन्य वडाहरुमा पनि पोल गाड्ने र तार तान्ने जिम्मा पाएको ठेकेदार कम्पनी र स्थानीय पेटी ठेकेदारहरुले उनीहरु आफै घर घरमा विद्युत् जडान गर्न नपाए लाइन नै नजोडी दिने धम्कि दिएको स्थानीय जनताको गुनासो छ । साथै ठेकेदारले घरमा वाईरिंग गरे बापत चर्को शुल्क असुल्ने गरेको अर्का स्थानीय शिव राईले बताए ।


प्रतिक्रिया दिनुहोस !