२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रोहित शर्मालाई पछारे, रोहित पौडेलको वरियता खस्कियो



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० आई ब्याटिङ वरीयतामा भारतका रोहित शर्मा र अस्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले १० स्थान सुधार गर्दै उनीहरूलाई पछाडि पारेका हुन्। दीपेन्द्र नयाँ वरीयतामा ५० औँ स्थानमा छन्। उनीभन्दा पछाडि भारतका ओपनर रोहित रहेका छन्। यस्तै, मार्कस ५२ औँ स्थानमा छन्। रोहित यसअघि ५० र मार्कस ५१औँ स्थानमा थिए।

ब्याटिङ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ७ स्थान तल झर्दै ५९ औँ स्थानमा पुगेका छन्। यस्तै, नेपाली टोलीका ओपनर आशिफ शेखको पनि वरीयता खस्किएको छ। उनी १४ स्थान तल झर्दै ८६ औँ स्थानमा पुगेका छन्। बलिङ वरीयतामा तीव्र गतिका बलर सोमपाल कामी मात्रै शीर्ष १०० मा अटाएका छन्। उनी १६ स्थान सुधार गर्दै ९२औँ स्थानमा पुगेका छन्। अलराउन्डरमा दीपेन्द्र ११ औँ स्थानमा रहँदा कुशल मल्ल ३३ औँ स्थानमा छन्। गुल्शनकुमार झा ६ स्थान सुधार गर्दै ६० औँ स्थानमा पुगेका छन् भने रोहित ६३ औँ स्थानमा छन्। करण केसीले ३ स्थान सुधार गर्दै ७३ औँमा पुग्दा नेपालका अन्य खेलाडी शीर्ष १०० मा अटाउन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !