२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

दीपेश पुनलाई फेरि पक्राउ गर्न अनुमति मागेको प्रहरी आफ्नै निर्णयबाट किन पछि हट्यो ?



काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीको अभियोग लगाउँदा दीपेशकुमार पुनलाई फेरि पक्राउ गर्न अनुमति मागेको प्रहरी आफ्नै निर्णयबाट पछि हटेको छ। पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार जिल्ला अदालत रुपन्देहीमा चार लाख रुपैयाँ धरौटी बुझाएपछि छाडिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेशलाई सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउनु नपर्ने आदेश भएमा संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेकाले सीआईबीलाई बुझाउन पत्रचार गरेको थियो।

सीआईबीले २०८० चैत २४ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई पत्र पठाएर संगठित अपराध मुद्दाको सम्बन्धमा अनुसन्धान गर्न पठाइदिन भनेको थियो। उक्त पत्रको चलानी नं १०४२१ थियो। उक्त पत्रको व्यहोरा अदालतमा पेस गरिएको अभियोगपत्रमा पनि समावेश गरिएको थियो। तर, शुक्रबार दीपेश छुट्ने बेलामा भने सीआईबीले नै नपठाउन भनेको हो। एसपी राठौरले पहिले पत्र आएको भए पनि अहिले पक्राउ गरेर पठाउने आदेश नआएको बताए। सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले पनि दीपेशलाई तत्काल पक्राउ गरी नल्याएको बताए। तर उनले उनीमाथि अनुसन्धान भइरहेको तथ्य भने स्वीकारे। डिजिटल फरेन्सिक प्रयोगशालाको प्रतिवेदन आउन बाँकी रहेको बताउँदै ‘रिपोर्ट आइसकेपछि झिकाउने’ उनको भनाइ छ।

जीबी राई समूहको सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्ला अदालत, रुपन्देहीले वैशाख ७ गते नै दीपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, दीपेशले उक्त धरौटी बुझाएका थिएनन्। धरौटी नबुझाएपछि उनलाई पनि कारागार चलान गरिएको थियो। अदालतको आदेश आएको एक साता जेलमा बसेका दीपेशले शुक्रबार धरौटी बुझाए र थुनामुक्त भए। प्रहरी उच्च स्रोतका अनुसार उनले आफैँ सीआईबीमा उपस्थित हुने बताएका छन्।

सुप्रिम सहकारीको मुद्दामा रुपन्देही अदालतले अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्रै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। नवीन अच्छामीसँग १० लाख, लीला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी माग गरिएको थियो। उनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन्। सहकारी ठगीका मुख्य अभियुक्त जीबी भन्ने गितेन्द्रबाबु राई भने फरार छन्।

उनी गृह मन्त्री रवि लामिछानेका व्यवसायिक साझेदार पनि हुन्। सुप्रिम सहकारी ठगीमा पनि रवि लामिछानेको नाम जोडिएको छ। उनले पनि सहकारीको दुई करोड रकम लिएको मिसिलमा उल्लेख छ। हाल गृहमन्त्री रहेका लामिछानेलाई प्रतिवादी बनाइएन र यस विषयमा सोधपुछसमेत गरेको छैन। सहकारीका पूर्वअध्यक्ष जीबी र पूर्वसचिव दीपेशसहित २८ जनाविरुद्ध मात्र मुद्दा दायर गरिएको छ। उनीहरूले ८६ करोड १८ लाखभन्दा बढी ठगी गरेको उजुरी परेको थियो।


प्रतिक्रिया दिनुहोस !