३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

बहिनीलाई घाँटी थिचेर हत्या गरेका समर ९ वर्षपछि पक्राउ



काठमाडौं । प्रहरीले ९ वर्षअघि भएको हत्याका अरोपितलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २०७१ कार्तिक १ गते हत्या गरिएकी काठाडौंमा कीर्तिपुर तौथलीकी २३ वर्षीया सुनमाया किसान सार्कीको हत्याका अरोपितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीका ४७ वर्षीया समरबहादुर सार्की छन् । उनलाई प्रहरीको टोलीले शनिबार कीर्तिपुरबाट पक्राउ गरेको हो ।

मृतक सुनमाया हत्याका आरोपित समर सार्कीकी फुपुकी छोरी (बहिनी) हुन् । सुनमायाको हत्यालगत्तै समर भागेर भारत पुगेको अनुसन्धानमा खटिएका कार्यालयकी प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसीले जानकारी दिइन् । पक्राउ परेका समरबहादुरलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । हत्यालगत्तै भारतको पन्जाब पुगेका समरले त्यहीँ इलेक्ट्रिक पसल सञ्चालन गरेको बसेको खुलेको छ ।

मृतक सुनमाया आफ्ना मामा गंगाबहादुर सार्कीसँग काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन् । समरबहादुर काठमाडौं ढुङ्गे अड्डामा ज्यामी काम गर्थे । २०७१ को असोज ३१ मा समर सुनमाया बस्ने आश्रममा पुगे । त्यो दिन सुनमायाका मामा गंगा आश्रम बाहिर थिए । मामा बाहिर भएका कारण राति सुनमाया र समर एउटै कोठामा सुते । राति सुनमायाको मोबाइलमा फोन आयो ।

सुनमायाले फोन उठाइन् । सुनमाया फोनमा कुरा गर्दा फोनको डिस्टर्बका कारण समरको पनि निद्रा खुल्यो । उनले प्रहरीसँगको बयानमा भनेका छन्, म काम गरेर थाकेर आएको थिएँ । राति राम्रोसँग सुत्न देऊ, डिस्टर्ब नगर भनेको थिएँ । तर, उल्टै मलाई हँसियाले प्रहार गरी । त्यही विषयमा विवाद हुँदा धकेल्दा खाटको धारमा टाउको लागेर उनी बेहोस भइन् । सुनमाया होसमा नआएपछि आफूले घाँटी थिचेर हत्या गरेको उनको बयान छ । सुनमायाको हत्या पछि उनले शवलाई आश्रमकै शैचालयामा फाले । शव शैचालय फालेर बिहान ८ बजे समरबहादुर काठमाडौं छाडेर भारत भागेका थिए । लामो समयदेखि अनुसन्धान जारी राखेको प्रहरीले शुक्रबार भने हत्यापछि पहिलोपटक समर काठमाडौं आएको सूचनाका आधारमा पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस !