५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

डढेलोले हिमालमा बढ्यो गर्मी



देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ । यसले दीर्घकालीन असर पर्ने देखिएको छ । एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा सगरमाथालगायतका हिमालमा त्यसबाट सिर्जित धुवाँ अर्थात् कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाइ छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका जल तथा मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठका अनुसार जलवायु परिवर्तनले ल्याएको तातो र डढेलोको धुवाँले हिमालमा तराईको भन्दा बढी गर्मी तुल्याएको छ । उहाँले भन्नुभयो, “यस्तै तातो र डढेलो बढेमा हिमनदी विलीन भएको देख्न पाइने छ ।” 

कालोपनले सूर्यको किरण अत्यधिक शोषण गर्छ । जसले गर्दा हिमाल तातिने प्रक्रिया छिटो हुन्छ । उहाँले मानव निर्मित डढेलो नियन्त्रण गर्न केन्द्रीय सरकारले हस्तक्षेप गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

धौलागिरि हिमशृङ्खलामा रहेको एएच जेरो एन्ड जेरो नामको हिमनदी अबको १५ वर्षमा विलीन हुने अनुमान गरिएको छ । त्यस नदीका बारेमा सन् १९७४ ताका अमेरिकाका तत्कालीन उपराष्ट्रपति एल्गोरले आफ्नो पुस्तक ‘इनइभिटेबल ट्रथ’ मा व्याख्या गर्नुभएको छ । सोसहित नेपालका धेरै हिमनदी उच्च तापक्रम र कार्बन उत्सर्जनका कारण उच्च जोखिममा छन् । हिमालको हिउँ गलन बढ्दै जाँदा बढेका हिमताल विस्फोटको खतरा पनि उत्तिकै छ । च्छो रोल्पा सन् १९७० मा सानो खाल्डोको पानीको स्वरूपमा थियो । ५० वर्षयता ठुलो घनत्वको ताल बनिसकेको छ । इम्जा हिमतालको अवस्था पनि उस्तै हो । नेपालका ९९ प्रतिशत हिमालको हिउँ पग्लिने क्रम जारी रहेको उहाँले बताउनुभयो । 

हिमाल अध्येता डा. सुदीप ठकुरीले पनि बढ्दो तातोले गत वर्ष जसरी नै यो वर्ष पनि अत्यधिक तातो वर्ष सङ्केत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तातो उच्च हुँदा गर्मीले हिमालको हिउँ पग्लन थालेको छ ।” विश्वव्यापी जलवायु परिवर्तन र बढेको तातोको प्रत्यक्ष असर हिमनदी र हिमतालमै पर्ने हो । उहाँले जेठमा हुनुपर्ने तातो वैशाख सुरुमै हुनु र सँगै डढेलोको कार्बन बढ्नु हिमालका लागि राम्रो नभएको बताउनुभयो । बढेको तातोले नेपालको पूर्वदेखि पश्चिमसम्मका तल्लो बरुण, चाम्लिङ, इमजा हुँदै च्छो रोल्पा, ठुलागीको सतह बढाउँदै लगेको छ । यसको परिणाम हिमताल फुटेर मानव अस्तित्व नष्ट गर्ने रहन्छ । गोरखाको वीरेन्द्र तालमा केही दिनअघि हिउँ पहिरो गए जस्तै हुने सम्भावना छ ।  

सर्वोच्च शिखर सगरमाथा आसपासको मौसम पहिलेभन्दा न्यानो छ । विगतको भन्दा अलिक बढी न्यानो हुँदै गएको खुम्बु पासाङ ल्ह्यामु गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागका अनुसार सगरमाथा आधार क्षेत्रमा बिहीबार माइनस २५ डिग्री सेल्सियस आसपासको अधिकतम तापक्रम देखियो । शुक्रबार बदली देखिएसँगै आधारक्षेत्र आसपास माइनस १५ डिग्री सेल्सियस आसपासको अधिकतम तापक्रम कायम रह्यो । मौसमविद् सरोज पुडासैनीका अनुसार आउँदो सोमबारदेखि भने बदलीसहित पहाडी भूभागमा हल्का वर्षा गराउने प्रणाली आउने सम्भावना रहेको छ । 

©️चाँदनी हमाल, गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !