५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

कर्णाली प्रदेशमा प्रभावकारी बन्दै यात्रु मैत्री अभियान



काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ ।

२०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइपर्ने समस्या र अप्ठेरा समाधान गरी यात्रुलाई सेवा दिन सकिने तथ्य पुष्टि गरेको छ ।

सवारी आवागमनलाई सहज र सुरक्षित बनाई दुर्घटना न्यूनीकरण गर्न थप प्रहरी परिचालन गरी अभियान संचालन गरिएको छ । अभियान शुरू भएदेखि २०८० चैत महिनासम्मको अवधिमा कर्णाली प्रदेशमा यात्रु मैत्री अभियान अन्तर्गत जम्मा ८ लाख १६ हजार ८ सय ४१ वटा सवारी साधन जाँच गरिएको छ । ती सवारीमा यात्रा गर्ने २९ लाख ९ हजार ९ सय ९४ जना नागरिक लाभान्वित भएका छन् । 

सार्वजनिक सवारी साधनमा यात्रुलाई सुरक्षित र मर्यादित रूपमा यात्रा गराउने वातावरण सिर्जना गर्न अभियान केन्द्रित रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “यात्रुलाई सुरक्षित र सहज तरिकाले गन्तव्य तय गराउने अवस्था सिर्जना गर्नका निमित्त अभियान संचालन गरिएको हो । यसले बिना झन्झट र नठगिइकन यात्रा गर्न पाइएको पृष्ठपोषण यात्रुहरूबाट आइरहेको छ । अभियानको उचित अनुगमन र मूल्याङ्कन गर्दै यसलाई अझ प्रभावकारी बनाउन केन्द्रबाट समेत निर्देशन एवम् उचित व्यवस्थापन गरिएको छ । यसले गर्दा समस्या परेमा, दुर्व्यवहार भएमा तत्काल प्रहरीले यात्रुलाई सहयोग पुर्‍याउँदछ ।”

धेरै सवारी साधन आवतजावत गर्ने ठाउँ र सडकमा सक्रिय रूपमा प्रहरी परिचालन गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्छन्, “हामीले हरेक इलाकामा नजिकको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको फोन नम्बर, हटलाइन नम्बर दिएका छौं । कुनै समस्या भए खबर गर्न अनुरोध गरेका छौं । गस्ती बढाएका छौं । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी खटिएर गई आवश्यक कारवाही गर्ने गरिएको छ ।

सवारीसँग सम्बन्धित सरोकारवाला निकाय, सवारी धनी तथा सवारी चालक एवम् सहचालकसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” सडक सुरक्षाको लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी पर्याप्त मात्रामा रोड ईन्जिनियरिङ र रोड फर्निचर समेतको व्यवस्थापन गर्न योजनावद्ध ढंगले काम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक ओलीको भनाइ छ । 

अभियान नागरिकमैत्री छ । प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ । जसले तथ्यगत सूचना संकलन गर्न तत्काल उचित निर्णय गर्न सघाउँछ । सुरक्षित यात्राका लागि समस्या भए समाधानका लागि ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा यात्रुको अवस्था बारे जानकारी लिने गरेको छ ।

अभियान सफल पार्न, प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरी काम गरिरहेको छ । यसका लागि भौतिक पूर्वाधार र साधन स्रोत सुधार एवम् थप गर्न पहल गरिएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !