५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने



नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।   

क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्ज्वल उपाध्यायका अनुसार ती नदीहरूलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिबास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ । 

परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा ‘रिसाइकल’ गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “क्याप परियोजना विश्वबैंकको आर्थिक सहयोगमा क्रिएशन नेपालद्वारा सञ्चालित परियोजना हो, जसले प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ ।” चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले  प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्लास्टिकजन्य फोहरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भएकाले अध्यक्ष गुरुङले गाउँपालिकाले यस अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नदी सरसफाइ भएसँगै त्रिशूली नदीमा जलयात्रा पर्यटन वृद्धि हुने उहाँको आशा छ । परियोजना प्रमुख उपाध्यायका अनुसार त्रिशूली नदी सरसफाइ अभियानका लागि गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिने छ । 

त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहर सङ्कलन गरी त्यसलाई रिसाइकल गरी मूल्य शृङ्खलामा परिणत गरिनेछ । रिसाइकल गरी आम्दानीको स्रोत बनाएपछि प्लास्टिकजन्य फोहर व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ । स्थानीय तहहरूका लागि प्लास्टिकजन्य फोहर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरसफाइ अभियानलगायतका काम हुने छन् ।

विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिक मुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने  परियोजनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !