५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर विकास गर्छौँ : मुख्यमन्त्री कार्की



कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–वराह क्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सोही अनुसार प्रदेशले तीन धार्मिक स्थललाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । 

शनिबार त्रि–धार्मिक स्थल हलेसीमा हवन कुण्ड शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले ठुला योजनामा मात्र लगानी गर्ने बताउनुभएको छ । शिरमा पानी लगाउँदा खुट्टैसम्म पुग्ने भएकाले प्रदेशले ठुला योजना मात्र अघि सार्ने बताउनुभएको हो । 

खोटाङको हलेसी, सुनसरीको वराह क्षेत्र र ताप्लेजुङको पाथीभरालाई मात्र विकास गर्ने हो भने प्रदेश समृद्ध हुने उहाँको भनाइ छ । सोही अनुसार तीन धार्मिक स्थललाई जोडेर पर्यटन प्रवर्द्धनमा कोशी सरकार लागेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । 

कोशी प्रदेश सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०८०/८१ को भ्याटसहित रु १ करोड ४४ लाख ८४ हजार ४९० रुपैयाँमा हलेसीमा हवन कुण्ड निर्माण सुरु भएको हो । शनिबार मुख्यमन्त्री कार्कीले शिलान्यास गरेसँगै निर्माण कार्य अघि बढेको छ । वैशाख ४ गते सम्झौता भएको योजना  असार १६ गते सक्नु पर्ने छ । उक्त हवन कुण्ड चाडै बन्यो भने पाँच लाख भन्दा बढी धार्मिक पर्यटकहरू हलेसीमा यसै वर्ष भित्र्याउने प्रदेशको योजना रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । यस्तै, तुवाचुङ र खुवालुङलाई जोड्ने गरी पनि प्रदेशले योजना बनाइरहेको उहाँको भनाइ छ ।

त्रि-धार्मिक स्थल हलेसीमा विश्वभरबाट भक्तजनहरू आउने गरेका छन् । साँगुरो ठाउँ भएकाले भक्तजनहरूलाई पूजापाठ गर्न समस्या थियो । हवन कुण्ड निर्माण भएपछि धेरै सहज हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमलाईले बताउनुभयो । शिलान्यास कार्यक्रममा उपस्थित खोटाङ प्रदेश सभा ‘क’ सांसद पाँचकर्ण राईले हलेसीको विकासका लागि आफू पनि लागिरहेको बताउनुभएको छ । 

©️गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !