६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता छ : अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याउनुभएको छ । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उहाँले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । “आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ, । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने । उहाँले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताउनुभयो ।   
   
अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताउनुभयो । “हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छाँै । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

उहाँले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताउनुभयो । “उहाँसँग मेरो धनिष्ट सम्बन्ध रहेको थियो । २०५४ सालतिर अन्तिमतिर पार्टी अलि ठीक ढङ्गले नचल्ने, समस्या पैदा हुने र हेर्दाहेर्दै अनावश्यक ढङ्गले पार्टी विभाजन हुने काम भयो”, उहाँले भन्नुभयो, “त्यसपछि हाम्रो सम्बन्ध पातलियो र एकअर्कामा स्नेह र सद्भाव कहिल्यै हटेन ।”

कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमा प्रवेश गर्न आफू तयार रहेको जानकारी दिनुभयो । उहाँले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने जनाउँदै भन्नुभयो, “मेरो कमजोरी के ? गल्ती, कमजोरी देखिएका भएका छन् । आत्म आलोचना गरेर पुनः पार्टीमा आएको छु । मान्छेबाट गल्ती, कमजोरी हुन्छन् । आत्म आलोचना गर्न ठूलो कुरा हो ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी नफुटाएको स्पष्ट पार्नुभयो । समारोहमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !