६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

रफाहबारे बाइडेनले नेतान्याहुसँग कुरा गर्नुहुन्छ– ह्वाइट हाउस



दक्षिणी गाजा सहरमा आक्रमण गर्नुअघि इजराइली सेनाले प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग कुरा गर्नुहुने ह्वाइट हाउसले बताएको छ ।

युद्धविरामका लागि हमाससँगको जारी वार्ता र रफाहमा आश्रय लिएका नागरिकहरूलाई सहयोग गर्ने पूर्ण योजनाबिना त्यहाँ गरिने आक्रमणलाई समर्थन नगर्ने वासिङ्टनको बारम्बारको भनाइका बावजुद इजराइलको उक्त घोषणा आएको छ ।

“हामी आइडिएफ अपरेसनका बारेमा बोल्न सक्तैनौँ, हामीले रफाहमा ठूलो स्थल आक्रमणका बारेमा इजराइली सरकारलाई हाम्रो धारणा स्पष्ट गरेका छौँ र राष्ट्रपतिले आज प्रधानमन्त्रीसँग कुरा गर्नुहुनेछ”, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भन्नुभयो, “लाखौँ मानिसले आश्रय लिइरहेको रफाहमा हुने आक्रमणबाट बच्न र बन्धकहरूको जीवन जोगाउन बन्धक सम्झौता नै उत्तम तरिका हो भन्ने हामीलाई विश्वास छ, वार्ताहरू अहिले पनि जारी छन् ।”

गाजा र इजराइलबीचको सीमा क्षेत्रमा हमास लडाकूहरूले गरेको रकेट आक्रमणपछि इजराइली सेनाले सोमबार प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेको हो । हमासको आक्रमणमा चार इजराइली सैनिक मारिएका छन् ।

कायरोमा सप्ताहन्तको वार्ताका क्रममा सात महिनाको युद्धलाई समाप्त गर्ने इस्लामिक समूहको मागलाई लिएर इजराइल र हमासबीच तीव्र असहमति बढेपछि रफाह खाली गर्ने आह्वान आएको हो ।

इजिप्टले जस्तै वार्ताको मध्यस्थता गरिरहेका संयुक्त राज्य अमेरिका र कतारबीच सोमबार दोहामा परामर्श हुने अपेक्षा गरिएको थियो तर रकेट आक्रमणपछि वार्ता रोकिएको इजिप्टको राज्यसम्बन्धित सञ्चारमाध्यमले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !