१६ जेष्ठ २०८१, बुधबार
 |   Wed May 29 2024
Logo

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’



भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताउनुभएको छ । 

नेपाल भ्रमणमा रहनुभएका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उहाँले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताउनुभयो । 

“नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरको विशिष्ठ सम्बन्ध छ । त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो”, रायले भन्नुभयो, “त्यसैले जनकपुरवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ । त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ ।” 

त्यसैगरी उहाँले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला) बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताउनुभयो । हाल सो शिलालाई दैनिक पूजाअर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उहाँको भनाइ छ । 

“हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारी मै छ । त्यहाँ मूर्ति बनाउनेक्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ । त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ”, उहाँले भन्नुभयो । 

त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले सीताबिना राम र जनकपुरबिना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ । त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो । त्यसमा तपाईं (राय) को भूमिका महत्वपूर्ण छ ।” 

उहाँहरूबीच आगामी अक्टोबरमा द्विपक्षीय छलफल गरेर यो विषयलाई टुङ्ग्याउने सहमति भएको नेता निधिको सचिवालयले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !