१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छः मन्त्री अर्याल



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्णाली प्रदेश प्राकृतिक स्रोतको धनी भए पनि गरिब भनेर बनाइएको भाष्य बदल्न लाग्नुपर्ने बताउनुभएको छ । 

आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले कर्णालीमा रहेका ढुङ्गा बेचेरै प्रशस्त आम्दानी लिन सकिने सम्भावना रहे पनि त्यसको उपयोग नगरी विगतदेखि नै गलत भाष्य निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नकारात्मकरूपमा कर्णालीलाई व्याख्या गर्नेभन्दा पनि सकारात्मक पक्षतर्फ पनि ध्यान दिऔँ, यहाँको सम्भावनातर्फ सबैले ध्यान दिएर त्यहीअनुसार योजना बनाउनुपर्छ । कर्णालीको ढुङ्गा बेचेर पनि हजारौँलाई रोजगारी दिन सकिने सम्भावना छ ।” 

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेगरी आफूले योजना बनाएको पनि उहाँको भनाइ थियो । “अहिले देशमा केही हुँदैन भन्ने निराशा बढ्दो छ, त्यो निराशालाई आशामा बदल्नेगरी मैले केही योजना ल्याएर सुरुआत गरिसकेको छु”, मन्त्री अर्यालले भन्नुभयो, “स्वदेशमै रोजगारीका प्रशस्त सम्भावना छन् । अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्छौँ, त्यसका लागि हामीले केही नयाँ सोच र जोशका साथ कामको थालनी गरेका छौँ ।” 

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अहिलेसम्म धेरै रकम खर्च भए पनि उपलब्धि हासिल हुन नसकेकाले सो कार्यक्रमको काम परिवर्तन गर्न लागिएको बताउनुभयो । आगामी वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धेरै प्रतिफलप्राप्त हुने उहाँको दाबी थियो । यसैगरी उहाँले भारततर्फ रोजगारीमा जानेहरूको समेत तथ्याङ्क राख्नेगरी काम भइरहेको जानकारी दिनुभयो । 

यसैबीच मन्त्री आर्यालले आफ्नो पार्टी सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप शतप्रतिशत गलत रहेको दाबी गर्नुभयो । संसदीय छानबिन समितिका नाममा संसदीय क्रियाकलाप प्रभावित बनाइएको पनि उहाँको भनाई थियो । आफूहरू समाजको स्वरुप फेर्नेगरी आएको बताउँदै उहाँले केही पार्टी सत्ताबाहिर रहँदा छटपटाइरहेको आरोप लगाउनुभयो । 

यसैबीच श्रम तथा रोजगार मन्त्रालयले जेठ २५ र २६ गते सुर्खेतमा रोजगार मेला आयोजना गर्ने भएको छ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा दुइदिने रोजगार मेला आयोजना गरिएको मन्त्रालयका सहसचिव दीपक नेपालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !