६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते



बुटवल, २४ असोज

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । यसअघि आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ ।

आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !