भाईका वंश नै सिध्याई
सर्बोच्च सत्ता हत्याएको उसले
प्रमाण नष्ट गर्नकै लागि
रारा ताल भित्र लगेर हालेको
कसरी बिर्सिसक्यौ तिमीले ?
अहो ! किन सहनसक्थ्यो उसले !
हरेक शुक्रवार अपराध गर्ने दिन हुन्थ्यो,
केहीनकेही अपराध गर्ने उस्को संस्कार थियो,
माघ १९ रोजेर रैतीका अधिकार पनि खोसेर
लात्तले हान्दै सडकमा खेदेको
अस्ति जस्तै लाग्दैन तिमिलाई ?
यत्ति छिट्टै बिर्सिसक्यौ र ?
गद्दीमा आसिन हिंश्रक जनावर चिनेनौ,
त्यसबिरुद्ध लागेका सचेत मानिसलाई खेद्न
तिमीहरूले पनि सेना पुलिस लगाएकै थियौ,
हजारौं सचेत मानवले वलिदान गर्दा पनि
तिमीहरूको त चेत खुलेको थिएन !
लातले खेदेपछि जे बुझ्यौ,
ढीला भैसकेको थियो, हैन र ?
गद्दीमा आसिन उक्त विवेकहीन जनावरले के बुझ्छ,
सचेत नागरिक वेपत्ता पार्ने, र
नरसंहारमा समकालीन विश्वको कीर्तीमानी
यत्ति छिट्टै बिर्सिसक्यौ र ?
पक्रिईसकेको उक्त हिंश्रक जनावर
नागार्जुन जङ्गलमा छोड्ने गल्ती भैसकेको छ,
उसको त्रास देखाएर एकखालका रैतीहरू
फेरि पनि सचेत नागरिकलाई तर्साउन खोज्दैछन् ।
अस्ति जस्तो लाग्ने त्रासदिपूर्ण ती दिन
बिर्सिएझैं गर्न तिमीहरूलाई लाज लाग्दैन ?