२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

‘बगैंचामा व्यस्त रहँदा मानसिक स्वास्थ्य सबल हुन सक्छ’



बोटबिरुवा वा फूलपात लगाएर बगैंचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुन सक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ ।

बगैंचामा पहिले कहिल्यै काम नगरेकाले पनि बिरुवासँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले देखाएको हो ।

प्लोस वान जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार फूलबारी वा बगैंचामा आफूलाई व्यस्त राख्दा तनाव, चिन्ता र मानसिक चिन्ता कम हुनेछ । अनुसन्धानका क्रममा वैज्ञानिकले सहभागी गराएका अस्वस्थ महिलामा मानसिक चिन्ता अति कम भएका पाए ।

साताको दुईपटक बगैंचा वा फूलबारीसम्बन्धी गतिविधिमा सरिक भएका २६ देखि ४९ वर्षका ३२ महिलामाथि गरिएको अध्ययनले उनीहरू चिन्तामुक्त भएको देखायो । अध्ययनमा सहभागी गराइएका महिलाले यसअघि फूलबारी वा बगैंचामा काम गरेका थिएनन् ।

विगतका अध्ययनले पनि बगैंचामा काम गर्दा विद्यमान चिकित्सा अवस्था वा चुनौती भएका व्यक्तिको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गरेको थियो । पछिल्लो अध्ययनले पनि स्वस्थ मानिसले बगैंचा वा फूलबारीमा काम गर्दा मानसिक स्वास्थ्यलाभ पाउन सक्ने अध्ययनका प्रमुख अन्वेषक चाल्र्स गायले बताएका छन् ।

अनुसन्धानमा सहभागीमध्ये आधालाई बगैंचाको काम तोकिएको थियो भने आधालाई कला–निर्माणका काममा खटाइएको थियो । दुवै समूहले एकअर्कालाई हप्तामा दुईपटक मात्र भेटेका थिए । उनीहरूको व्यवहार, बोलीचाली, आफू सम्बद्ध समूहका अनुभव र अध्ययनको तर्कपूर्ण प्रस्तुतिले मानसिक रूपमा स्वास्थ्यमा समान सुधार आएको पाइयो । उनीहरूमा रचनात्मक ढंगले काम गर्ने, काममा रमाउने, फूल तथा बोटबिरुवा योजनाबद्ध रूपमा लगाउनेजस्ता सकारात्मक सोचको विकास भएको पनि पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !