१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली भूमि मिचेको पनि हैन, भवन निर्माण पनि आफ्नै भूमिमा बनाएको चिनियाँ अधिकारीको भनाई



काठमाडौं । चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन् । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरुले बताएका छन् । चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन् । नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् । चिनियाँ अधिकारीले नेपाली सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने सो पत्रिकालाई बताएका छन् ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा. महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको दाबी गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ । नेपाल र चीनको बिचमा सीमा विवाद समाधान भए पनि नेपाल र चीनले संयुक्त रुपमा तीनवटा सीमाको संयुक्त अवलोकन गरेका र कुनै समस्या नपाइएको समेत चिनियाँ सरकारी अधिकारीको दावी छ ।


प्रतिक्रिया दिनुहोस !