Tuesday, October 22, 2024

ट्रेन्डिङ :

चीनसँगकाे सीमा क्षेत्रमा शान्ति तथा स्थिरता नराम्रोसँग बिग्रिएको भारतीय विदेशमन्त्री एस. जयशंकरको भनाई

एजेन्सी। सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति तथा स्थिरता नराम्रोसँग बिग्रिएको र त्यसको प्रभाव भारत–चीनको सम्बन्धमा परेको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् । भारत र चीनबिच पूर्व लद्दाखमा विगत पाँच महिनादेखि सीमा क्षेत्रलाई लिएर तनाव जारी रहेका बेला जयशंकरले यस्तो बताएका हुन् । सीमा क्षेत्रमा दुई देशले ५० हजार भन्दा बढी सैनिक तैनाथ गरेका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले शनिबार आफ्नो किताब ‘द इन्डिया वे’ को प्रमोशनका लागि भएको एक वेबिनारको क्रममा भारत–चीन सम्बन्धबारे धेरै महत्वपूर्ण कुरा गरेका हुन् । भारत र चीनबिचको सम्बन्ध सुरुदेखि नै निकै कठिन रहेको उनले बताए । सन् १९८० पछि व्यापार, यात्रा, पर्यटनसहितका अरु धेरै सामाजिक गतिविधि सक्रियभएपछि सम्बन्ध केही सामान्य भएको उनले बताएका छन् । एस जयशंकरले भने, ‘सीमा विवाद समाधान गर्नु निकै जटिल काम हो । यसका लागि विभिन्न तहमा वार्ताको प्रयास भइरहेको छ । दुई देशको सम्बन्धमा यो निकै मुश्किल पक्ष हो ।’ उनले भने, ‘सन् १९८० पछि सीमा क्षेत्रमा जस्तो शान्ति र स्थिरता थियो त्यस्तै हुनु पर्छ ।’

वर्तमान परिवेश र आपसी सम्बन्धलाई लिएर विदेशमन्त्री जयशंकरले भने, ‘एलएसीमा शान्ति र स्थिरता नराम्रोसँग प्रभावित भएको अवस्थामा दुई देशको सम्बन्धमा त्यसको असर पर्नु स्वाभाविक हो । त्यो असर हामीले देखिरहेका पनि छौँ ।’

भारत र चीन दुवै देशले तीव्र गतिमा प्रगति हाँसिल गरिरहेको र विश्व मञ्चमा ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा रहेका बेला आपसमा यी देशले कसरी तालमेल मिलाउँछन् भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । एलएसीमा झण्डै ४५ वर्षपछि भारत र चीनबिच पहिलोपटक गोली हानाहान भएको थियो पाँच महिना पहिले । त्यसपछि भारतले चीनका १०० भन्दा बढी एप्लिकेशनमा प्रतिबन्ध पनि लगाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?