१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

प्रकाश सपुतको मेरो पनि होइन र यो देश युट्युब ट्रेन्डिङको पहिलो स्थानमा



काठमाडौं : सार्वजनिक भएको २४ घण्टामा गायक सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले सोमबारसम्म १६ लाख बढी भ्यूज बटुलिसकेको छ । सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन् । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । “नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भन्नुभयो, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।”

राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ । सपुतले आफै रचेको गीतमा संगीत पनि उनले नै दिएका छन् । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् ।

उहाँले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो/विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कुण्ठामिश्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाए । गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !