Sunday, January 19, 2025

ट्रेन्डिङ :

लुम्बिनी गुरुयोजना पूरा गर्न ग्लोबल टेण्डर आव्हान, साढे २ वर्षमा सक्ने लक्ष्य

spot_img
spot_img
spot_img

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनका रुपमा रहेको लुम्बिनी गुरुयोजना पूरा हुनका लागि अझै साढे दुई वर्ष लाग्ने भएको छ । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको तयार पारेको लुम्बिनी गुरुयोजनाका लागि लागि अहिले बजेट अभाव नभए पनि सबै निर्माणका काम पूरा गर्न समय लाग्ने भएको हो । गतवर्षदेखि कोरोना महामारीका कारण पनि यो गुरुयोजना प्रभावित बनेको छ ।

विकास कोषमा बारम्बार हुने राजनैतिक हस्तक्षेप, पदाधिकारी नियुक्तिमा भागवण्डा र सक्षम तथा योग्य नेतृत्व नहुनु नै लुम्बिनी गुरुयोजनाको काम सम्पन्न समयमै सम्पन्न हुन नसक्नु मुख्य कारण हो । सुरुवाती समयमा कम बजेट बिनियोजन भए पनि अहिले भने बजेटमा कुनै समस्या नरहेको विकास कोषले जनाएको छ ।

कोषका योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईका अनुसार अब अढाई वर्षमा लुम्बिनी गुरुयोजनाका सबै काम सकिनेछन् र त्यसका लागि अब ७ अर्ब रुपैयाँ रकम खर्च हुन्छ । ७ अर्बमध्ये ४ अर्ब रुपैयाँ बराबरको ग्लोबल टेन्डर (सोमबार) सार्वजनिक भैसकेको उनले बताए । बोलपत्र स्वीकृत भएको २ वर्षभित्र काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक, ढल, पुल, कल्बर्ट, बिहार जोड्ने सबै रोडहरु, सौन्दर्यीकरण, बिद्युतीकरण सबै यो योजनामा समेटिएका छन् ।

त्यसैगरी बाँकी ३ अर्ब बराबरको टेण्डर असारभित्र सार्वजनिक हुनेछ, यसमा ६ वटा भवनहरु, वेष्ट म्यानेजमेन्ट सिष्टमलगायतका छन् ।
इन्जिनियर भट्टराई भन्छन्, ‘अब कुनै विपदले रोकिएन भने अढाई वर्षभित्र लुम्बिनी गुरुयोजनाका सबै काम सकिनेछन् । अहिले पनि काम भइरहेको छ तर सोचेअनुसार गर्न सकिएको छैन, महामारीले योजनाका कामलाई पनि प्रभावित पारेको छ ।’

लुम्बिनीमा निर्माणाधीन ५ हजार क्षमताको गोलाकार कन्फ्रेन्स हलको प्रथम चरणको काम सम्पन्न भई दोश्रो चरणमा ल्याण्ड स्केप, सौन्दर्यीकरण, बाउन्ड्रीवाल पार्किंङलगायतका काम बाँकी थिए, त्यो पनि अहिलेको बुद्ध जयन्तीका दिनसम्म सम्पन्न गर्ने लक्ष्य विकास कोषले लिएको थियो तर कोरोनाका कारण केही ढिलाई भएको र छिट्टै सकिने भट्टराईले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासोको योजना रहेकाले पनि यो सभाहल छिटो बनाउनुपर्ने दवाव विकास कोषलाई छ । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बिगतमा भएका कमजोरीको समीक्षा गर्दै गुरुयोजनाका बाँकी कामलाई छिटो पूरा गर्न लागिपरेको बताए ।

‘अहिले कामले गति लिइरहेको थियो तर कोरोनाले प्रभावित बनाएको छ, गतवर्ष पनि प्रभावित भयो, अहिले पनि प्रभावित छ,’ उनले भने, ‘अहिले कोरोनाले प्रभावित भए पनि केही कामहरु स्वास्थ्य मापदण्ड अपनाएर भइरहेका छन् । टेन्डरहरु आव्हान भैरहेका छन्, असारसम्म बाँकी सबै टेन्डर हुन्छ ।’

राईका अनुसार योजनाका काम सम्पन्न गर्न कोषले निरन्तर जारी राखे पनि निषेधाज्ञाले असर गरेको छ । ४० वर्षअघि सुरु भएको योजनाको काम अब ग्लोबल टेन्डर आव्हान भएपछि छिटै सकिनेमा विश्वास लिन सकिने राईले बताए । अहिलेसम्म लुम्बिनी गुरुयोजनाको भौतिक प्रगति ८० प्रतिशत माथि पुगेको कोषका पदाधिकारीहरुको भनाइ छ ।

बिकास कोषका सदस्य सचिब सानुराजा शाक्यले अहिले बिगतमा जस्तो आर्थिक समस्या नभएको बताए । ‘अहिले बजेटले गुरुयोजनाको काम प्रभावित भएका छैनन्, कोरोनाले प्रभावित बनायो, विश्व नै प्रभावित हुँदा हामी अछुतो रहन सकेनौं, अब जे जस्तो भए पनि अढाई वर्षमा काम सक्ने लक्ष्य लिएर अघि बढेका छाैं,’ उनले भने ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?