२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

गठबन्धन भत्काएर प्रधानमन्त्री बन्दै माधव : देउवासँग चार पटक भेट, राष्ट्रपतिसँग परामर्श



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला सत्ता गठबन्धन ढल्न सक्ने बताइरहेका बेला काङ्ग्रेस सभापति देउवालाई भेटेका छन् । आफूले प्रधानमन्त्रीको पद पाउने काङ्ग्रेसको हरियो बत्ति पाएपछि चार पटक देउवा र राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शसमेत गरेका छन् ।

वैशाख १० गते नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अघि उनले आफूहरुलाई धेरै पेल्न खोजे उथलपुथल ल्याउने चेतावनी ल्याएका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नपाउने देखेपछि सो पार्टी एमाले र माओवादीसँग बिच्किएको थियो। गठबन्धन छाड्ने धम्की दिएपछि सो पार्टीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न अध्यक्ष केपी शर्मा ओली तयार भएपछि गठबन्धन जोगिएको थियोे ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओलीले हैकमवादी चरित्र देखाएको र प्रचण्डको चिप्लोपनले पनि न्याय नगरेकाले दुवैले चरम अवसरवादी प्रवृत्तिले गठबन्धनमा समस्या आएको बताए ।

त्यसो त एमाले–माओवादीबीच गठबन्धन बनाउने सहमति गर्दा ओली र प्रचण्डले एकीकृत समाजवादीलाई थाहै दिएका थिएनन्। त्यही भएर पनि एकीकृत समाजवादी अध्यक्ष नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तरजसो छलफलमा छन्। नेपाल आफू प्रधानमन्त्री बन्ने पालो आउन लाग्दा कांग्रेससँगको गठबन्धन टुटेकोमा दुखी छन्।

अध्यक्ष नेपाल र कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार फागुन २६ देखि अहिलेसम्म देउवा–नेपालबीच कम्तीमा चारपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ।

एकीकृत समाजवादीसँग संघीय संसदमा १० सांसद छन्। यस्तै, बागमती, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा सो पार्टी सरकार बनाउन र टिकाउन निर्णायक छ।एकीकृत समाजवादीले साथ छाड्ने हो भने कम्तीमा चार प्रदेशको सरकार ढल्न सक्छ। अर्थात् गठबन्धन दुर्घटनामा पर्छ। यसका कारण एकीकृत समाजवादी हेपिएर गठबन्धनमा नबस्ने सो पार्टीका नेताहरुले बताउन थालेका छन्।

अहिले गठबन्धनबाट यथेष्ट सहयोग नपाएको, बढी खिसीट्युरी भएकोमा एकीकृत समाजवादीका नेताहरु रुष्ट छन्। हामीले हिजो पनि विद्रोह गर्ने जोखिम उठाएकै हो, हामी विद्रोहका लागि तयार हुनेबित्तिकै यस्ता पोइन्ट विभिन्न ठाउँमा आउन सक्छन्,’ नेपालनिकट एक नेताले भने, ‘माधव नेपाल प्रधानमन्त्री बन्ने अवस्था आए गठबन्धन भत्काउन तयार छौँ। एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धन फलिफाप नहुने निष्कर्ष निकालिसकेको छ। त्यही भएर माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावनाबारे छलफल भइरहेको छ।

‘धारा ७६ (२) मा प्रधानमन्त्री बनाउन कांग्रेस–एमालेले सपोर्ट त गर्नुपर्छ नै, राष्ट्रपतिले पनि कोअपरेट गर्नुपर्छ,’ माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रयास भइरहेको स्रोतले भन्यो । कांग्रेस सभापति देउवा प्रचण्डसँग रुष्ट छन्। उनले गठबन्धन भत्काउने पहिलो उपाय एकीकृत समाजवादी देखेका छन्। एकीकृत समाजवादीले गठबन्धन छाडे अहिलेको संघीय सरकार त धरापमा पर्नेछ साथै चार वटा प्रदेशमा सरकार ढल्ने छ।


प्रतिक्रिया दिनुहोस !