१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राजनीतिक दलहरुले चीनलाई भने- नेपालमा तत्काल खोप पठाइदिनु



रकारसहित राजनीतिक दलहरुले कोभिडको दोस्रो लहर नियन्त्रण र त्यसपछिको आर्थिक स्थिति सुधारका लागि चीनको सहयोग अत्‍यावश्यक भएको बताएका छन् । कम्युनिस्ट पार्टी चाइनाले नेपालको राजनीतिक दलहरुसँग बुधबार गरेको  भर्चुल छलफलका क्रममा सत्तारुढ एमाले, नेपाली कांग्रेस र  माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलका नेताहरुले कोरोनासँगै नेपालको आर्थिक स्थिति सुधारका निम्ति चीनको सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

छलफलमा बोल्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री नेपालमा ईश्वर पोखरेलले नेपाललाई आवश्यक खोप उपलब्ध गराइ सहयोग गर्न आग्रह गरेका छन् । ‘सबै सुरक्षित नभइकन कोही पनि सुरक्षित हुँदैन । त्यसैले सबैलाई सुरक्षित राख्ने उपाय भनेको खोप हो । चीनले नेपाललाई थप खोप सहयोग गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अक्सिजन र स्वास्थ्य सामाग्री अभाव हुन नदिन चीनको सहयोगप्रति धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सकंटबाट नेपाललाई पार लगाउन चीनले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।’नेपाली जनताको जीवनरक्षाका निम्ति चीनको मानवीय सहयोगप्रति हामी धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । निकट भविष्यमा पनि यस्तै अभाव हुनसक्ने खतरा कायमै भएकाले आवश्यक सहयोगको अपेक्षा हामी राख्छौँ,’ उनले भने ।

चीनले नेपालका जनतालाई खोप उपलब्ध गराउनका लागि थप सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘नेपाली जनतालाई महामारीबाट बचाउनका निम्ति खोपको जरुरी छ । चीनले बढी भन्दा बढी खोप नेपाललाई उपलब्ध गराउन म आग्रह गर्दछु,’ उनले भने ।

छलफलमा बोल्दै नेपाली कांग्रेसका नेता नारायण खड्काले नेपालको संकटमा साथ दिएकोप्रति धन्यवाद प्रकट गरेका छन् । ‘चीनको मानवीय सहयोगका लागि नेपाली कांग्रेस चीन सरकारलाई धन्यवाद दिन चाहन्छ । तेस्रो लहरको अनुमान भइरहेको समयमा नेपाललाई स्वास्थ्य संकटबाट बचाउन चीनको आवश्यकता अपरिहार्य भएकाले खोप, अक्सिजन लगायतका सामाग्रीमा थप सहयोगको अपेक्षा हामीले राखेका छौँ,’ उनले भने ।

नेता खड्‍काले एक चीन नीतिमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको स्वास्थ्य संकटमा चीनको सहयोगले दुई राष्ट्रबीचको सम्बन्धलाई झन् मजबुद बनाएको बताए । ‘नेपालमा अझै पनि भेन्टिलेटर अक्सिजन र खोपको कमी भएकाले चीनको थप सहयोगको आवश्यकता छ,’ उनले भने ।

छलफमा राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले कोरोनापछिको आर्थिक संकट उत्पन्न हुन नदिन आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । उनीहरुले नेपालको स्वास्थ्य संकटको समयमा चीनको सहायताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !