
निषेधाज्ञायता अन्तर्राष्ट्रिय उडान मार्फत ३३ हजार यात्रुले आउजाउ गरेका छन्। यो अवधिमा चार्टर, नियमित र उद्धार उडान मार्फत विभिन्न वायुसेवा कम्पनीको चार सय ७९ उडान अवतरण गरेका छन्।
यसमार्फत २१ हजार नौ सय दुई यात्रु बाहिरिएका छन्। निषेधाज्ञाकै समयमा ११ हजार दुई सय ३८ यात्रु भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
कुल १८ वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज, हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम र फ्लाइ दुबाईको उडान मार्फत सेवा लिने यात्रुको संख्या धेरै रहेको छ।
विमानस्थलले तयार पारेको विवरण अनुसार, अत्याधिक यात्रु र कार्गो उडान सेवा दिएका चार वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज अग्रस्थानमा छ। यो वायुसेवा कम्पनीले कुल ४४ वटा उडान मार्फत छ हजार पाँच सय ७१ यात्रुलाई सेवा दिएको छ भने तीन सय ६२ टन कार्गो ढुवानी गरेको छ।
कार्गो ढुवानी गर्ने कम्पनीमा निजी वायुसेवा कम्पनी हिमालय एयर लाइन्स अग्रस्थानमा छ। कम्पनीले एक महीनामा पाँच सय ४५ टन कार्गो ढुवानी गरेको छ।
विमानस्थलले तयार पारेको विवरण अनुसार एक महिनाको अवधिमा हिमालयले एक सय ३४ उडान अवतरण मार्फत पाँच हजार आठ सय ४७ यात्रुलाई सेवा दएको छ।
नेपाल वायुसेवा निगमले यो अवधिमा ६१ वटा उडान अवतरण मार्फत चार हजार आठ सय ८२ यात्रुलाई सेवा दिएको छ। कम्पनीले यो अवधिमा दुई सय ४० टन कार्गो ढुवानी गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
निगम र निजी वायुसेवा कम्पनी हिमालयले यो अवधिमा अधिकांश उडान स्वास्थ्य सामाग्री ढुवानीका लागि गरेका छन्।
यसैगरी फ्लाइ दुबाईले एक महीनाको अवधिमा ४० उडान अवतरण मार्फत चार हजार एक सय ७७ यात्रुलाई सेवा दिएको छ। विमानस्थलका अनुसार कम्पनीले एक महीनामा २४ टन कार्गो ढुवानी गरेको छ