१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

ओलीले धेरै ठूलो पीडा सहेर पनि एकताको प्रयास गरिरहनुभएको छ : पौडेल



काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताउनुएको छ । नेकपा एमालेले २०७५ जेठ ३ अघिको पार्टी केन्द्रीय कमिटी ब्युँताएकाले सबै नेताहरू तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपां) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताउनुभएको हो । उहाँले माधवकुमार नेपाल पक्षीय नेताहरू बैठकमा नआउनु अनुचित हुने बताउँदै बैठकमा आउने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तरविरोधहरूलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताउनुभयो । पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उहाँको जोड छ । आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारितामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उहाँको भनाइ छ ।

‘पार्टीलाई एकतावद्ध गरेर लान प्रधानमन्त्रीले धेरै ठूलो पीडा सहेर पनि सम्वाद, सहकार्य र एकताको लागि प्रयास गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘अब व्यक्तिको स्वेच्छाचारी ढंगले नभइ पार्टीको निर्णयको आधारमा पार्टी चल्छ, निर्णय र निर्देशनको आधारमा पार्टी चल्छ भन्ने सुनिश्चितता गर्नका लागि नेकपा९एमाले०को केन्द्रीय कमिटीको बैठक बस्छौँ ।’ नेकपा (एमाले) ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भङ्ग गरी २०७५ जेठ ३ अघिको अवस्थामा रहेको केन्द्रीय कमिटी ब्युँताएको छ । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ । यद्यपि वरिष्ठ नेता नेता माधवकुमार नेपाल पक्षले भने पार्टी २०७५ जेठ २ गते फर्काउनुपर्ने माग गरेका छन् । यस्तो अवस्थामा आगामी बैठकमा नेपाल पक्ष नेताहरू बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् भन्ने आम चासोको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !