१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

ओली समूहका पूर्वमन्त्रीले देउवालाई भने-फ्लोर क्रस गराउँछु, मलाई मन्त्री चाहियो !



काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’ ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’

बूढानीलकण्ठ स्रोतले ओली पक्षका पूर्वमन्त्री देउवा निवासमा आएको पुष्टि गर्यो । तर, गोपनीयताका कारण उनको नाम भने ‘एक्स्पोज’ नगरिदिन आग्रह गर्यो । ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए । प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।

तथापि उनले आफूसँग ८/९ जना सांसदहरु रहेकाले माधव नेपालसँग पनि यसबारेमा कुरा गर्ने र मन्त्री बनाइएमा ओलीको कित्ता छाडेर माधव नेपालतर्फ लाग्ने बूढानीलकण्ठलाई वचन दिएको स्रोतले बतायो । देउवाले विश्वासको मत नपाएर सरकार ढल्ने अवस्था आएमा आफूले काँध थाप्ने ती नेताले वचन दिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !