२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

ओली रेड कार्ड खाएर बालकोट गए, अब म्याच खेल्न पाउँदैनन् : नेता बिश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गरेका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको टिप्पणी थियो । आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाइ छ । विहीबार काठमाडौंमा आयोजित एक् साक्षात्कारमा बोल्दै उनले भने, ‘केपी ओली त रेड कार्ड खाएर बालकोट जानुभयो, अब म्याच खेल्न पाउनुहुन्न ।’

उनले ५ दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाए । उनले भने, ‘उहाँले यो संसदको पूर्ण आयु कायम गर्नुपर्छ भन्नुभएको छ । यो सरकार १६ महिना नै चल्छ ।’ उनले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने पनि दाबी गरे । उनले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताए । उनले भने, ‘मुलुकलाई सबै मिलेर अघि बढाउनुपर्छ । उहाँले राष्ट्रिय सहमतिको वातावरण बनाउनुहुन्छ । मलाई विश्वास छ, उहाँले त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ ।’

उनले विश्वासको मत भने अधिकतम पाउने जिकिर गरे । यसअघिको सरकारले गरेका राम्रा र असल कामलाई भने यो सरकारले निरन्तरता दिने र असंवैधानिक कामलाई भने खारेज गर्ने पनि उनको भनाइ छ । ओलीले कानूनविपरित सरकार चलाएको उनको आरोप थियो । तर, वर्तमान सरकारले कानूनबमोजिम देश चलाउने उनको विश्वास छ । एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार गरिने पनि उनले जानकारी दिए ।

उनले भने, ‘यथाशीघ्र मन्त्रिमण्डल विस्तार हुन्छ, मलाई लाग्छ एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ ।’ माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने र सबैलाई सरकारमा भाग लिने वातावरण बनाईने पनि बताए । उनले भने, ‘सबैले सरकारमा भाग लिँदा नै सही हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भन्दा यो चुनावी सरकार नै हो । हाम्रो लक्ष्य भनेको यो संसदको पूर्ण कार्यकाल चल्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !