१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

शपथग्रहणअघि शीतल निवासमा किन भएको थियो चर्काचर्की ?



मंगलबार अपरान्ह ५ बजे राष्ट्रपति कार्यालयबाट जारी सूचनामा शेरबहादुर देउवालाई संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेको व्यहोरा लेखिएपछि हंगामा मच्चियो । साँझ ६ बजे भनिएको शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालयको भित्री कोठामा भएको चर्काचर्कीका कारण झण्डै अढाई घण्टा पर सरेको हो ।

अदालतको फैसलाबमोजिम भन्ने वाक्यमा टेकेर अप्ठ्यारो पार्न खोजिएको भन्ने नेताहरूको टिप्पणीपछि राष्ट्रपति विद्यादेवी भण्डारी आफै अप्ठेरोमा पर्नुभएको बताइन्छ । सूचना नसच्चिएसम्म शपथ नखाने देउवाको अडानपछि आगन्तुकहरू समारोहस्थलमा झण्डै तीन घण्टादेखि बिलखबन्दमा परेका हुन् ।

भित्रको अर्को कोठामा त्यसैगरी प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा,सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यसैगरी राष्ट्रपतिलाई कुरेर बसिरहनु भएको थियो । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने समारोह स्थलको अगाडिको भागको कुर्सीमा बसिरहनुभएको थियो ।

त्यहि बीचमा काँग्रेस नेतृ पुष्पा भुसाल हतारिँदै आएर नेपालसँग सोध्नुभयोे, ‘राष्ट्रपति कार्यालयमा कसलाई भन्ने ? यो पाराले त भएन,पत्र नसच्चिएसम्म शपथ हुँदैन भनेर कसलाई भन्ने ?’ भुसालले त्यसो भन्नेबित्तिक्कै नेपालले राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकाललाई बोलाइदिनुभयो । ढकाल नेपाल नजिकै आएपछि उहाँले भनेको सुनियो, ‘यो चिठी मिलेको छैन रे,मिलाउन भनिदिने कि !’

उता भित्र संवैधानिक अंगका प्रमुखसहित देउवा बस्नुभएको कोठामा पनि राष्ट्रपति आउन झण्डै एक घण्टा ढिला भयो । उहाँ त्यहाँ आएपछि शपथ ग्रहण समारोहस्थलमा रहनुभएका नेपाल र दाहाललाई पनि भित्रबाट बोलावट आएको देखियो ।

शपथ ग्रहण रोकिएका प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश,सभामुख, राष्ट्रियसभाका अध्यक्ष भएको ठाउँमा नेपाल र प्रचण्ड पुग्नुभयो । तर राष्ट्रपति त्यहाँ हुनुहुन्थेन ।

धेरै बेरको कुराइपछि राष्ट्रपति त्यो कोठामा छिर्नुभयो । लगत्तै देउवाले त्यहि कुरो उठाउनुभयो तर राष्ट्रपतिले ‘हैन,यो त त्यस्तै पो हो’ भनेर जवाफ फर्काउनुभएको थियो । उहाँले थप्दै देउवालाई आश्वस्त पार्दै भन्नुभयो, ‘सर्वोच्चको फैसलालाई नै हो आधार मान्ने, सबैले त्यहि भन्छन् ।’

त्यसपछि देउवा,नेपाल,दाहाल र राष्ट्रपतिबीच अर्को कोठामा एकछिन कुराकानी भयो । त्यहाँ प्रधानन्यायाधीशलाई बोलाउने कुरो भयो तर,राष्ट्रपतिले ‘पर्दैन’ भनेपछि उहाँहरूबीच मात्र कुरो भएको बताइन्छ । सबैलाई उहाँले सोध्नुभयो । तीनै जनाले धारा ७६ (५) उल्लेख हुनैपर्छ भन्नुभयो । ‘ल ठीक छ,त्यसो भए, भेषराजजीलाई भित्र पठाइदिनुस्’ भनेर राष्ट्रपतिले अह्राउनुभयो । नेता नेपाल र उपेन्द्र यादव त्यहाँबाट बाहिर निस्कनुभयो । तर शेरबहादुरसँगै प्रचण्ड भने भित्रै बसिरहनुभयो ।

त्यसपछि फेरि एक घण्टा कुरेपनि शपथको कुनै छेकछन्द देखिएन । यसवीच भित्र देउवा र दाहालसँग राष्ट्रपतिको चर्काचर्की परेको बताइन्छ । राष्ट्रपति र प्रचण्डबीच पनि निकै ठूलो स्वरमा कुरा भएको कोठा बाहिर बसेकाले समेत सुनेका थिए ।

स्रोतले भनेको छ,‘काँपेको स्वरमा माधव नेपालको नाम लिँदै उहाँले प्रचण्डसँग चर्काचर्की गर्नुभएको हो ।’ ‘तपाईंहरू माधव नेपालसँग पार्टी मिलाएर एकै ठाउँमा आउँदै हुनुहुन्छ नि होइन ? भनेर दाहालसँग उहाँले सोधनी गर्नुभएको थियो ।’

शेरबहादुरसँगको कुराकानीमा पनि राष्ट्रपतिले नेपालको आलोचना गर्नुभएको बताइन्छ । सम्भवतः पछिल्लो राजनीतिक घटनाक्रम सबै नेता नेपालको सहयोगमा भएको लागेपछि उहाँले दाहाल र देउवामाथि असन्तुष्टि पोख्नुभएको बताइन्छ ।

त्यसपछि शपथ ग्रहण कार्यक्रम भए पनि उहाँ नयाँ प्रधानमन्त्रीको मुखतिर पनि नहेरी र बधाई पनि नदिई अर्को कोठामा जानुभएको थियो । नयाँ प्रधानमन्त्रीलाई संवैधानिक अंगका प्रमुखहरूसँग परिचय पनि नगराई अर्को कोठामा लैजान कार्यक्रम सञ्चालक तथा सचिवलाई अह्राइएको थियो । जुन सामान्य शिष्टाचार अनुकूल नरहेको यसअघिका शपथ ग्रहण समारोहमा देखिएको दृश्यले पनि बताउँछ ।

राष्ट्रपतिलगायत सबै संवैधानिक अंगका प्रमुख देउवालाई त्यहिँ छाडेर भित्रको कोठामा छिरेपछि सबैभन्दा पहिले नेता नेपालले प्रधानमन्त्रीलाई बधाई दिनुभएको हो । नेता नेपालले हात मिलाउन खोज्दा देउवा तर्किनुभएको थियो । तर माधवले यो खुशीमा ‘मिलाउनुस्’ भनेपछि देउवाले हात दिनुभएको नजिकैकाले समेत सुनेका थिए ।

बालुवाटारमा बसेर त्यही दृश्य टेलिभिजनमा हेरिरहनुभएको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने आगो हुनुभएको थियो । देउवाले हात मिलाउन नखोज्दा पनि नेपालले हात मिलाएको भन्दै ओली आगो भएको बालकोट स्रोतले बताएको छ । त्यसपछि मात्र प्रचण्डले देउवालाई बधाई दिनुभएको थियो ।- जनआस्थाबाट साभार 


प्रतिक्रिया दिनुहोस !