१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चुनौतीपूर्ण तेस्रो लहर आउन सक्छ, अक्सिजन र शैय्या चुस्त–दुरुस्त राख्नु: स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।मन्त्रालयले बिहीवार विज्ञप्ति निकालेर सङ्क्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शैय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको हो

सरकारी, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल गरिरहँदा पनि सङ्क्रमणको दर जति घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले पछिल्लो हप्तादेखि सङ्क्रमित थपिने क्रम बढिरहेकोले चिन्ता थपिएको जनाएको छ ।

मोरङ, सुनसरी, झापा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी १० जिल्लामा पाँच सयभन्दा धेरैका दरले तथा २६ जिल्लामा दुई सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण बढिरहेको तर निषेधाज्ञा खुकुलो भएको मौकामा बुझेर या नबुझेर लुकिछिपी स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्ने क्रम बढेको भन्दै मन्त्रालयले सङ्घ, प्रदेश, पालिका र सबै नागरिकलाई जिम्मेवार बन्न र मापदण्ड पालना गर्नरगराउन अनुरोध गरेको छ


प्रतिक्रिया दिनुहोस !