१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुनसान बन्दै बाजुराका ग्रामीण सडक



बाजुरा । तीन महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी लोकमार्ग अझै सञ्चालनमा नआएपछि बाजुरावासीले निकै सास्ती खेप्दै आउनुपरेको छ ।

गत जेठको २३ गतेदेखि आएको अविरल वर्षातले बाजुर्गाडदेखि मार्तडी सम्मको सडक खण्ड अवरुद्ध हुँदै आएको छ । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन अछामलाई पटक पटक जानकारी गदै आए पनि सो सडक अझै सुचारु हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा सडक डिभिजन अछामले तत्काल बार्जुगाडदेखि बल्दे अम्कोट हुँदै मार्तडीसम्म अवरुद्ध भएको सडकको काम सुचारु गर्ने जमर्को गर्दै आएको र दिन प्रतिदिन पानी पर्न नरोकिएकै कारण अहिलेसम्म सडक सञ्चालनमा ल्याउन नसकेको सडक डिभिजन साँफेबगरले जनाएको छ ।

लामो समयसम्म सवारी साधान मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीहरुलाई समान ढुवानी गर्न निकै सास्ती खेप्दै आउनुपरेको होटेल व्यवसायी रामबहादुर बुढाले बताउनभयो । उहाँले भन्नुभयो, व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताले पनि चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नुपरेको छ ।

हिउँदमा धमाधम गाउँमा गुड्दै आएका सवारी साधान अहिले बीचबीचमा रोकिँदै आएका छन् । लामो समय सम्म सवारी साधन रोकिएपछि बाजुराका ग्रामीण सडक पनि सुनसान बन्दै गएको बुढाले बताउनुभयो ।

केही दिन अघि जिल्लाको सडक अवस्था बुझन् जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले साँफे मार्तडी लोकमार्ग अन्तर्गत रहेको बल्दे अम्कोट सडकको अनुगमन गरेको थियो ।

सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आएपनि अविरल वर्षात्का कारण सडको तलमाथी दुबैतिरबाट पहिरो बग्न नरोकिएकै कारण सडक अवरुद्ध हुँदै गएको अनुगमन टोलीको बुझाइ छ ।

केही दिन अधि डोजरको निरन्तरताले सदरमुकाम मार्तडी सम्म साना सवारी साधान जीप र ट्रयाक्टर सुचारु गरे पनि सडकमा पहिरो बग्न नरोकिएपछि अहिले फेरी ती साधन बेतालमाण्डौ, बाम्का, फालासैन्, बल्देमै रोकिएका छन् । ठूला सवारी साधन बस,ट्रकहरु सुचारु हुन हिउँद नै कुुर्नुपर्ने अवस्थामा देखिएपछि बाजुराका स्थानीयहरुले यस पालिकाको दशैंमा पनि महँनगो मार खेप्दै आउनुपर्ने अवस्था देखिएको छ ।

गत जेठ २३ गते आएको अविरल वर्षात्का कारण साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अम्कोटमा पहिरो गएपछि लामो दुरीको सवारी साधान बल्दे थन्किँदै आएपछि कोल्टी मार्तडी र बल्देको दूरी टुटेको छ ।

बुढीगङ्गा नगरपालिको अम्कोट बल्देमा भीषण पहिरो लागेकोले छोटा दूरीका सवारी साधन ट्रयाक्टर जीपलाई सुचारु गर्न सकिने भएपनि काठमाण्डौ ,नेपालगञ्ज धनगढी महेन्द्रनगरबाट आउने लामो दूरीका सवारी साधन बस ट्रक भने हिउँदमै सुचारु हुन सक्ने अवस्था देखिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाकुमार अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, साना सवारी साधन सुचारु गर्न सडक खुलाउने काम गरे पनि वर्खाको समयमा जमिनको भर नभएकोले सडकको अवस्था पनि भरपर्दो नभएपछि अहिले ठुला सवारी साधन सुचारु गर्न अनुमति पनि दिएको छैन् ।

लामो समयसम्म गाडी नचलेपछि बाजुराको जनजीवन निकै प्रभावित बन्दै गएको छ । एका तीर खाद्यानको अभाव अर्को तीर बाढीपहिरोको त्रासले बाजुरावासीहरुलाई रातमा न निद्रा दिनमा न भोक लाग्ने भएको छ ।

जिल्लाका सरकारी तथा गैरसरकारी सस्थाहरुले पीडितलाई तत्कालका खाद्यान सहयोग गर्ने जमर्को गरेपनि बाटो नखुलेका कारण समयमै उनीहरुलाई राहत दिन समस्या भएको छ ।

राहत वितरणका लागि पुरानै खच्चरको प्रयोग गरेर बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गर्नुपरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !