१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अर्थतन्त्रकाे ढुकुटी मधु मरासिनीकाे हातमा जिम्मा लगाए ढुंगानाले, फर्किए प्रधानमन्त्री कार्यालयमै



नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। अर्थ सचिवबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका शिशिरकुमार ढुंगानाको बिदाइ गरिएको छ। ढुंगाना ६ महिनापछि सेवानिवृत्त हुँदैछन्।

अर्थमन्त्री जनार्दन शर्माले नवनियुक्त सचिव मरासिनीको स्वागत र ढुंगानाको बिदाइ गरेका छन्। अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न सचिव मरासिनीलाई निर्देशन दिए। उनले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न आग्रह गरे।

आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिए। ‘मन्त्रालयमा टेबुलको शासन चलाएर हुँदैन। अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटोछिटो काम गर्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्‍यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मिहिनेतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले  ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे।

कार्यक्रममा सचिव ढुंगानाले कोभिड-१९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए। कोभिड महामारीकैबीच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको जिकिर गरे।

उनले अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गरेका थिए। ढुंगानाले अन्तर-सरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवर्द्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए।

राजस्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव ढुंगानाको बिदाइले मन्त्रालयमा सृजना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !