१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

स्थानीयलाई दबङ्ग स्टाईलमा खाल्डो खनेर पुरिदिने एमाले अध्यक्ष पालको धम्की



काठमाडौं : नेकपा एमालेका जिल्ला अध्यक्षको हस्तक्षेपका कारण बैतडीको एक स्वास्थ्य चौकीको स्तरोन्नतिको काम ठप्प बनेको छ। बैतडीको डिलासैनी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीलाई सरकारले स्तरोन्नति गरी १० शय्याको आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो। जसमा नेकपा एमालेको जिल्ला अध्यक्ष सुरेन्द्र पालले हस्तक्षेप गरेको स्थानीयले आरोप लगाएका छन्। गत १५ पुसमा डिलासैनी–७ को धामीगाउँमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको भवन निर्माणका लागि शिलान्यास गरिएको थियो। तर पालले एकलौटी ढंगले कसैलाई पायक नपर्ने जंगलमा बनाउन थालेपछि विवाद बढेको हो।

उनले जबरजस्ती जंगल फँडानी गरी अस्पताल निर्माण गर्ने भन्दै डोजर लगाइरहेको स्थानीय जनक धामीले बताए। ‘सुरुमा जहाँ शिलान्यास भयो त्यहीँ अस्पताल निर्माण हुनुपर्छ भन्ने हामी स्थानीयको माग हो’, उनले भने, ‘तर एमालेका जिल्ला अध्यक्षले जबरजस्ती जंगल फाँडेर बनाउन खोजिरहेका छन्। जुन कसैलाई पायक पनि पर्दैन।’

मुख्य ठेकेदारले जहाँ शिलान्यास भएको हो त्यहीँ निर्माण गर्छु भनेपछि नियोजित ढंगले पेटी ठेकेदार नियुक्त गरी अन्तै अस्पताल भवन बनाउन लागिपरेको उनको भनाइ छ। डोजर रोक्न स्थानीयले विरोध गर्दैगर्दा अध्यक्ष पालले उल्टै विरोध गर्नेलाई खाल्डो खनेर पुरिदिन डोजर अपरेटरलाई फोनमार्फत् निर्देशन दिएको पाइएको छ। यस विषयमा पालसँग टेलिफोन सम्पर्क गर्दा उनले हामीसँग के विषयमा कुरा गर्नुपर्ने हो भनेर हामीसँग प्रश्न गरे। हामीले डिलासैनीको स्वास्थ्य चौकीको विवादको बारेमा भन्नेवित्तिकै उनले पाल मोबाइल चार्ज गरेर छाडेको जवाफ दिँदै फोन राखे ।

डिलासैनीमा पालले स्वास्थ्य चौकी निर्माणको विषयमा मात्रै नभएर अरु विषयमा पनि आफ्नो शक्तिको नाजायज फाइदा उठाउँदै आएको स्थानीयको आरोप छ। पालिकाको केन्द्रका सम्बन्धमा समेत पालले शक्तिको दुरुपयोग गरेका छन्। डिलासैनीको वडा नम्बर ७ मा पालिका केन्द्र तोक्ने र पालिकाकाको नाम डिलासैनी राख्ने निर्णय भएको थियो। तर अहिले पालले सो निर्णयको अवज्ञा गरी पालिकाका पदाधिकारीहरुलाई प्रलोभनमा पारेर पालिका आफ्नै घर नजिक सारेका छन्। यसको चर्को विरोध पनि भइरहेको छ।

विराधे बढ्दै गएपछि उनले केन्द्र नभइ सम्पर्क कार्यालय राखिएको बताउँदै आएका छन्। यद्यपि अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। स्थानीयहरुका अनुसार पालले आफ्नो गाडी पालिकालाई महिनाको १ लाख २० हजार हुनेगरी भाडामा लगाएका छन्। तर प्रयोग भने पाल आफूले गर्ने गरेको स्थानीयको आरोप छ। यो विषयमा जनप्रतिनिधिहरु समेत बोल्न डराउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !