१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई खोप दिइन्छ: राज्यमन्त्री श्रेष्ठ



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोज मसान्तभित्र ३३ प्रतिशत जनतालाई खोप लगाउने गरी कार्यक्रम अगाडि बढेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म कुल एक करोड ८ लाख डोज खोप आउने सुनिश्चित भएको भन्दै उक्त अवधिभित्र कम्तिमा ३३ प्रतिशत जनतालाई खोप लगाइने बताएका हुन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आजसम्म ४५ लाख जनालाई पहिलो डोज खोप लगाइएको छ। त्यो भनेको कुल जनसंख्याको झन्डै १५ प्रतिशत हो।

राज्यमन्त्री श्रेष्ठले अहिले दैनिक डेढदेखि दुई लाख जनाले खोप लगाउने गरेको जनाए। उनले अब आउने खोपहरू बढी संक्रमण भएका जिल्लाहरूमा केन्द्रित गरिने बताए। अहिले १० देखि १५ वटा जिल्लाहरूमा संक्रमण बढी रहेको भन्दै अब आउने खोपलाई त्यस्ता ठाउँहरूमा प्राथमिकता दिइने श्रेष्ठले जनाए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले किशोर किशोरीलाई लक्षित गरी फाइजर र मोर्डेनाका कोरोना खोप ल्याउने गरी गृहकार्य अघि बढाइएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यार्थीहरूलाई खोप उपलब्ध गराउने तयारी रहेको जनाएका हुन्।

अहिले लगाइराखिएको खोप १८ वर्ष उमेर मुनिका किशोर किशोरी र बालबालिकालाई लगाउन नमिल्ने भन्दै ती उमेर समूहका लागि उपयुक्त खोप ल्याइने श्रेष्ठले बताए


प्रतिक्रिया दिनुहोस !