आन्तरिक राजस्व दोब्बर बनाउने योजनामा अर्थमन्त्रालय, करका कर्मचारीलाई १०–५ भन्दा बढीको ड्युटी गर्न अर्थमन्त्रीको निर्देशन « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

आन्तरिक राजस्व दोब्बर बनाउने योजनामा अर्थमन्त्रालय, करका कर्मचारीलाई १०–५ भन्दा बढीको ड्युटी गर्न अर्थमन्त्रीको निर्देशन



जनार्दन शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्।

बिहीवार आन्तरिक राजश्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास संभव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भने।

“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन। एक पटक राम्रोसँग सोच्नुहोस् राजश्व संकलन बढाउन सकिने उपायहरु तपाई आफै फेला पार्नुहुनेछ” उनले भने “त्यसको लागि तपाईलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ। तर राजश्व दोब्बर बनाउने लक्षका साथ काम गर्नैपर्दछ।”

उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए। “करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ।

त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्” मन्त्री शर्माले भने “हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ।”

उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याए। “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन? यसको हिसाव किताव खोई? जनतासँग भएको सम्पत्ति के कति हो? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो? यसको हिसाव किताव गर्ने योजना पनि चाहियो” उनले भने।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजश्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजश्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने संभावना रहेको बताए। राजश्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोही अनुसार थप जागर चलाएर काममा खटिन निर्देशन दिए।

आन्तरिक राजश्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयहरु सबैले राजश्व संकलनमा देखिएका समस्याहरुको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरु समेत निकाल्न आग्रह गरे।

प्रविधिको माध्यमबाट सवै राजश्व कार्यालयहरुलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन उनले निर्देशन दिए। वि.सं २०५४ सालदेखि मूल्य अभिबृद्धि कर (भ्याट) लगाएदेखि जिडिपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजश्व २२ प्रतिशतमा पुगको तथ्याङ्क उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न विलिङ्ग सिष्टममा एकीकृत गर्न आग्रह गरे।

देशका विभिन्न ठाउँमा रहेका ८४ वटा राजश्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयहरुलाई लक्ष्य अनुसारको काम गर्न निर्देशन दिए।

आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए। गत वर्ष कुल राजश्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजश्व संकलन भएको थियो।

आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजश्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा ४२९ अर्ब संकलन भएको छ। चालु आर्थिक वर्षको लागि ५२२ अर्ब राजश्व संकलनको लक्ष्य तोकिएको छ।

यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आवद्ध छन्।

कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेहरु आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ।


प्रतिक्रिया दिनुहोस !


भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

साताको शेयर बजार : ३८ अर्बको कारोबार



धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो ।

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर रु ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद–बिक्री भए ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो । तीन दिन रु नौ अर्बको कारोबार भए पनि दुई दिन रु पाँच अर्बमा सीमित भयो ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ विन्दुले बढेर ५४८.२९ मा पुग्यो । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो । आइतबार विभिन्न नौ कम्पनीका शेयरमा सर्किट लाग्यो ।

साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो । त्यस दिन नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको शेयर खरिद बिक्री भयो । त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट देखियो । नेप्से परिसूचक १८.५४ विन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ विन्दुले ओरालो लागेर ५४५.६६ मा पुग्यो । नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर रु पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो ।

त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको शेयर खरिद बिक्री भयो । साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा सीमित भयो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भयो । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्न पुग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार नौ अर्बमाथि रह्यो । त्यस दिन नेप्से परिसूचक ७६.६५ विन्दुले ओरालो लागेर दुई हजार ८१२.३८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अङ्कले घटेर ५२५.७८ मा सीमित भयो ।

कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर रु नौ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागे ।

प्रतिक्रिया दिनुहोस !

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा



निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

नेपालीको महान् चाड दशँै, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताउनुभयो । कोभिड महामारीकाबीच आफूहरु पनि यात्रुलाई सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा कम्पनी पनि उत्रेर गुणस्तरीय सेवा प्रदान गरिने उहाँको भनाइ थियो ।

आफ्ना १८ सिट क्षमताका दुई बिचक्राफ्ट र थप गरिएका ३० सिटे पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा र भरतपुर (चितवन) गरिएकामा केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङ्टार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: