१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेटो सेना फिर्ता गएपछि आक्रमक बन्यो तालिबान, राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा



काठमाडौं । अमेरिका नेतृत्वको नेटो सेना फिर्ताभएसँगै आक्रमक बनेको तालिबानले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएको छ । त्यस्तै तालिबान राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको अन्तरार्तष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन ।

यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने बीबीसीले बताएको छ । पछिल्लो जानकारीअनुसार अमेरिका र ब्रिटेनपछि अष्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाउँदै छ । यी सेनाहरुले आ आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरुलाई फिर्ता लैजाने छन् ।

थप दुई प्रान्तीय राजधानीमा कब्जा

शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको छ । पक्तिकाको परिषद अध्यक्षले भनेका छन्, गुप्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।

यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताएका छन् । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंडडुल गरिरहेको देखिन्छ । मजार ए शरीफ भन्ने शहरमा अफगान सेना र तालिबान लडाकुहरुबीच भयानक गोलीबारी जारी छ ।

तालिबान लडाकुहरु राजधानी काबुलको जति जति नजिक पुग्दैछन्, त्यति त्यति मानिसहरुमा डर पैदा भएको छ । शनिबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकको वातावरण थियो । त्यहाँ अफगानिस्तानमा कार्यरत विदेशी नागरिक, दूतावासका कर्मचारी र अफगानिस्तानकै नागरिक कुनै न कुनै प्रकारले बाहिर जाने उपाय खोजीरहेका थिए । तालिबानले कब्जा गरेका क्षेत्रबाट भागेर काबुल पुगेका हजारौं मानिसहरु काबुलका सडक किनारमा बनाइएको अस्थायी क्याम्पमा बसिरहेका छन् ।

तालिबान नेतृत्व र सामाजिक सन्जालमा सक्रिय समर्थकहरुले भने तालिबानले नियन्त्रणमा लिएका क्षेत्रमा स्थिति सामान्य बन्दै गएको बताएका छन् । यसका साथै तालिबानले सबै वर्ग र समुदायका लागि काम गर्ने सन्देश पनि जारी गरिएको छ ।तालिलबान लडाकुहरुले बन्दी बनाएकाहरुलाई मार्छन् र युवतीहरुलाई तालिबान लडाकुहरुसँग बिहे गर्न बाध्य बनाउँछन् भन्ने खालका अभिव्यक्तिहरुलाई खण्डन गर्न पनि यस्ता सन्देश जारी गरिएको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !