२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

अफगानिस्तानबाट ६०० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइयो



काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट करिब ६ सय नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ६ सय नेपाली स्वदेश फर्किएका छन् भने थप ३ सय १७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् ।

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले भदौ १ गतेदेखि शनिबारसम्म झण्डै ६ सय नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएको जानकारी दिए । शनिबार बिहान मात्रै दुई उडानमार्फत ३६ जना नेपाली स्वदेश फर्किएका छन् ।

शनिबार राति पनि केही संख्यामा नेपाली स्वदेश फर्किने उडान तालिका रहेको छ । स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानबाट आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने व्यवस्था मिलाइएको छ ।

सरकारले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै साउन ३२ गते नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति र परिवारलाई आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !