५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आफैँले जबरजस्ती गरी जन्माएको बच्चा अपहरण, भागेका अभियुक्त समातिए



सुर्खेत । जुम्लाबाट एक १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने अभियुक्त सुर्खेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाया रहेका छन् । उनले एक किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरी शिशु जन्माएको र सोही बच्चा १० महिनाको हुँदा नाटकीय ढंगले अपहरण गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार सुर्खेतको एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । रोकायाले बच्चा अपहरण गरी भागेर सुर्खेत पुगेको बताइएको छ ।

जिप्रका निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेका अभियुक्त रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

नाटकीय ढङ्गबाट अपहरण

रोकायाको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । उनले भने, ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो । शिशु जन्मेपछि अपहरण समेत गर्यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।’

किशोरीले चाहिँ बच्चा पनि झुक्याएर जन्माएको र झुक्याएरै अपहरण गरेको बताइन् । ‘यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको थिए । राति ९ः०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, तिम्रो आमालेले बोलाउनुभएको छ,’ ती किशोरीले भनिन्, ‘आमाले किन बोलाउनुभयो होला भन्ठानेर म हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे । ऊ ९दानबहादुर० मसँग आएन । पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिनँ ।’

शिशु हराएपछि आफूले गुहार मागेको उनले बताइन् । ‘स्थानीय प्रहरीलाई गुहार्यौं, अहिलेसम्म शिशु भेटिएको छैन,’ उनले भनिन् । किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन् । आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !