१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नजन्मिदै किन घाइते भयो नेपाल टेलिकमको इन्टरनेटबीनै चल्ने मोबाइल वालेट ? यस्तो रहेछ भित्री चलखेल



काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीमा स्थापना हुन लागेको ‘नमस्ते पे’ नामक मोबाइल वालेट सुचारु गर्न ढिलाइ भएको छ । नेपालको सबैभन्दा ठूलो मोबाइल वालेट सुचारु हुन ढिलाइ भएपछि विभिन्न प्रश्नहरू खडा भएका छन् ।

नेपाल टेलिकमको सहायक कम्पनीका रूपमा स्थापना भएको नेपाल डिजिटल पेमेन्ट कम्पनीले २०७७ सालको माघमा ‘नमस्ते पे’ बाट कारोबार सुरु गर्ने लक्ष्य लिएको थियो । उक्त लक्ष्य अनुसार काम गर्नका लागि नेपाल टेलिकमले कम्पनीका सह-प्रबक्ता कृष्णप्रसाद भण्डारीलाई कार्यकारी प्रमुख (सिइओ)का रूपमा जिम्मेवारी दिएको थियो ।

उनको असक्षमताका कारण नमस्ते पे सुचारु हुन नसकेको नेपाल टेलिकम आबद्ध एक कर्मचारीले बताए । ‘नेपालमा चलन चल्तीमा रहेका केही मोबाइल वालेटहरूको प्रभावमा परेर भण्डारी सरले ‘नमस्ते पे’ सुचारु गर्न आनाकानी गरिरहनु भएको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘कनेक्ट आइपीएस, ई-सेवा, खल्ती, आइमई पे लगायतका कम्पनीहरूले नमस्ते पे सञ्चालनका लागि ढिला गर्न सुपारी दिएको भन्ने हल्ला छ ।’

नेपाल टेलिकममा आबद्ध विभिन्न कर्मचारी सङ्गठनहरूले गरिरहेको आन्दोलनमा पनि यो विषयले स्थान पाएको छ । कम्पनी भित्र संस्थागत सुशासन हुनुपर्ने मागभित्र ‘नमस्ते पे’ सञ्चालनमा किन ढिलाइ भयो भन्ने विषय पनि परेको नेपाल टेलिकम वकर्स युनियनका महासचिव महेश्वर खड्काले बताए ।

‘हामीले यो विषयमा सार्वजनिक अडिट हुनपर्छ भनेका छौँ । माघबाट सञ्चालनमा ल्याउने भनेर कम्पनीले २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।’ महासचिव खड्काले भने, ‘अहिलेसम्म किन कारोबार सुरु भएन ? डिजिटल माध्यमबाट दिनका १ अर्बको कारोबार भइरहेको रिपोट छ । ढिलाइ हुनुको कारण कतै अरू केही छ छैन ?’

नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड (नमस्ते पे) कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७७ साल साउन १३ गते दर्ता भएको थियो । कम्पनीका दर्ता भएपछि नेपाल राष्ट्र बैङ्कले मोबाइल वालेट सञ्चालनका लागि स्वकृति दिएको थियो ।

कम्पनीको अधिकृत पुँजी ४० करोड रहेको छ । यसमा नेपाल टेलिकमको ५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ३९ प्रतिशत र कर्मचारी तथा सर्वसाधारणको १० प्रतिशत शेयर हिस्सा रहेको छ । अहिलेसम्म नेपाल टेलिकमले मात्र २५ करोड रुपैयाँ लगानी गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले कति लगानी गरेको छ भनेर खुलाइएको छैन ।

निर्धारित समयभित्र मोबाइल मनी सेवा (नमस्ते पे)ले कारोबार सुचारु गर्न नसकेपछि हामीले यस विषयमा खोजी नीति गरेका छौँ । कम्पनीका सीईओ भण्डारीले ढिलाइ हुनुका कारणबारे जानकारी दिन चाहेनन् ।

‘तपाई पत्रकार हुनुहुन्छ भन्ने कुरा थाहा पाएको भए म फोन उठाउने थिइन । ढिलाइ हुनुको कारण हामीलाई थाहा छ ।’ मोटिभेटसँगको कुराकानीमा उनले भने, ‘तपाईँलाई भनेर छिटो हुने होइन । हामी जतिसक्दो छिटो सञ्चालन/कारोबार सुरु गर्ने प्रयत्नमा छौँ ।’

उनले यस विषयमा जानकारी दिन आनाकानी गरेपछि हामी नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीसँग सम्पर्क गर्यो । उनले पनि यस विषयमा सीइओलाई नै जानकारी हुने भएकाले उतै बुझ्न भने ।

त्यसपछि हामीले नमस्ते पेको अर्को मुख्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैङ्कमा सम्पर्क गर्यौ । बैक भने यही भदौ २२ गतेबाट परीक्षण कारोबार सुरु गरिने जनाएको छ । बैङ्कका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण प्रविधि आउन ढिलाइ हुँदा सेवा सुचारुमा ढिलाइ भएको हो ।

‘भदौ २२ गतेबाट हामीले परीक्षणका लागि आन्तरिक रूपमा कारोबार सुरु गर्ने भनेका छौँ ।’ मोटिभेटसँगको कुराकानीमा राष्ट्रिय वाणिज्य बैङ्कका सूचना अधिकारी विदेश लोहनीले भने, ‘भदौ मसान्तबाट औपचारिक रूपमा कारोबार सुचारु हुन्छ ।’

यो वालेट सुरु हुने बित्तिकै अहिले संचालनमा रहेका विभिन्न कम्पनीको भविष्य समाप्त हुने विश्लेषण गरिएको छ । नमस्ते पे मोबाइल वालेट इन्टरनेट विना कारोबार गर्न सकिने गरी ल्याइएको छ । इन्टरनेट नभएको बेलामा पनि विभिन्न किसिमका भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

इन्टरनेटका साहारामा चलिरहेका अरू वालेटहरूको भविष्य समाप्त हुने भएकाले उनीहरूले जतिसक्दो ढिलाइ गर्न कम्पनीका सीइओलाई प्रेसर दिइरहेका छन् । वालेटमार्फत मोबाइल रिचार्ज गर्न, विद्युतको बित तिर्न, सरकारी राजश्व भुक्तानी गर्नलगायत अनलाइनबाट गर्न सकिने सम्पूर्ण भुक्तानी इन्टरनेट विनै गर्न सकिनेछ । -मोटिभेट न्यूज डटकमबाट


प्रतिक्रिया दिनुहोस !