२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

पार्टीले कारवाही गरेका सांसदलाई पदमुक्त नगर्नु सभामुखको बेइमानी : ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटा माथि प्रश्न उठाएका छन् । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै उनले सभामुखमाथि हमला गरेका हुन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाए ।

आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेशअनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त भएको सूचना जारी नगरिएको उनको आरोप छ । ‘लेखराज भट्टजीहरुलाई कारवाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ सभामुखतिर लक्षित गर्दै उनले भने, ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’ यसअघि भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा पनि ओली सभामुखमाथि खनिएका थिए ।

उनले सभामुखको भूमिका निष्पक्ष रहन नसकेको बताए । ‘सम्माननीय सभामुखजी साझा व्यक्तित्व, निष्पक्ष रहनुपर्नेमा उहाँ त्यो रहन सक्नुभएन,’ उनले भने, ‘सभामुखको जिम्मेवारीमा निष्पक्ष रहन नसक्ने, कानुनको पालना गर्न नसक्ने, मर्यादामा बस्न नसक्ने कुरा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद् कुरा हो ।’ पार्टीले कारवाही भएको जानकारी गराइसक्दा पनि ती सांसदलाई पदमुक्त नगर्नु बेइमानी भएको ओलीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !