१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मुख्य प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन छानबिन समितिको सिफारिस



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको छ ।

राखेपलाई बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल (संघ) एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको हो ।

यस्तै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार तथा अन्य कसैप्रति लक्षित गरी धारणा राख्न पनि अल्मुताइरीलाई रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

‘फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यसैगरी मुख्य प्रशिक्षक अल्मुताइरीले विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने पनि छानबिन समितिले भनेको छ ।

कुनै पनि सञ्चारकर्मीले कुनै खेल प्रशिक्षकसँग अन्तर्वार्ता लिनु परेमा एन्फाका सूचना अधिकारी वा व्यवस्थापकसँग अनुमति लिएर मात्रै सम्पर्क गर्ने व्यवस्था मिलाउन पनि समितिले सुझाव दिएको छ ।

छानबिन समितिले एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्नुपर्ने पनि औंल्याएको छ । खेल क्षेत्रलाई धुमपान रमध्यपान निषेधित क्षेत्र बनाउनद्यै सोही बमोजिमका कार्य अगाडि बढाउन पनि समितिले सुझाव दिएको छ ।

यसैगरी मुख्य प्रशिक्षक अल्मुताइरी र पत्रकार विभा थापाबीचको विवाद समाधानका लागि सात दिनभित्र दुवै पक्षलाई बोलाएर समाधान निकाल्न पनि समितिको प्रतिवेदनमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !