१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाहरू पनि भेन्टिलेटरमा, वीर अस्पतालमा मृत्यु



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुवै डोज खोप लगाएका व्यक्तिको स्वास्थ्यमासमेत जटिल समस्या देखिएको छ । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा दुवै डोज खोप लगाएका व्यक्ति पनि संक्रमित भएर गम्भीर अवस्थामा उपचार गरिरहेका छन् ।नेपालको जनसंख्याको करिब १४ प्रतिशत व्यक्तिले कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप ४० लाख ५२ हजार व्यक्तिले लगाइसकेका छन् । तर, दुवै डोज खोप पुरा गरेका व्यक्ति पनि कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना हुनुपरेको छ ।

सामान्यतया खोपले कोरोना संक्रमण नदेखिने भने होइन । तर, संक्रमण देखिए पनि जटिल स्वास्थ्य समस्या नहुने जनाइएको थियो । हाल कोरोना संक्रमण देखिएर अस्पताल भर्ना हुने बिरामीले खोप लगाएका हुन कि होइन भनेर हामीले उपत्यकाका सरकारी अस्पतालहरूमा बुझ्दा दुवै डोज खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएर आईसीयू र भेन्टिलेटरमा भर्ना भएको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा कोभिड युनिटमा भर्ना हुने ८० प्रतिशत व्यक्तिले खोप लगाएका छैनन् भने २० प्रतिशत व्यक्ति एक वा दुवै मात्रा खोप लगाएका समेत रहेको अस्पतालले जनाएको छ । कोभिड युनिटका चिकित्सक डा. निरज बमले दुवै डोज खोप लगाएका व्यक्ति समेत क्रिटिकल केयरमा भर्ना भएको जानकारी दिए ।

यस्तै वीर अस्पतालले समेत खोप लगाएका व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिएको जनाएको छ । दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ । टेकु अस्पतालमा पनि खोप लगाएका ५० प्रतिशतसम्म विरामी अस्पताल भर्ना हुने गरेका छन् । दुवै डोज पूरा गरेका केही व्यक्तिमा मात्र जटिल स्वास्थ्य समस्या देखिएको अस्पतालले जनाएको छ ।

यस्तै, पाटन अस्पतालमा भने खोप लगाएका व्यक्तिमा संक्रमण देखिए पनि जटिल खालको समस्या नदेखिएको जनाएको छ । अस्पतालका निर्देशक डा। रवि शाक्यले दुवै तथा १ डोज खोप लगाएका व्यक्तिमा संक्रमण देखिए पनि स्वास्थ्यमा जटिल समस्या देखिएका संक्रमित भर्ना नभएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !