१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

वाईसीएललाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न नेता शर्माको निर्देशन



काठमाडौं : नेकपा (माओवादी केन्द्र) का संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिएका छन् । वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिएका हुन् । कार्यकारी प्रमुखको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा बाँकी छन् । ती मुद्दाहरूलाई समातेर अगाडि बढ्नुस्, उनले भने ।

वाईसीएल मुद्दा विहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो । उनले विगतमा पार्टीले उठाउँदै आएका र पूरा हुन नसकेका मुद्दालाई फेरि उठाउनुपर्ने बताए । २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको थियो । तर संविधान निर्माणका क्रममा सहमति गर्दै माओवादी कार्यकारी प्रधानमन्त्रीको पक्षमा लागेको थियो ।

शर्माले संगठनलाई विस्तार गर्दै सदस्यलाई रोजगारी र उत्पादनमा जोड्ने योजना ल्याउन सुझाव दिए । संगठनले तय गरेका नारालाई कार्यान्वयन गर्न र गुटबन्दी नगरी सहमति गरेर अघि बढ्न पनि शर्माले निर्देशन दिएका छन् । उनले सहमतिका आधारमा नै संगठनमा कार्यविभाजन गर्नका लागि सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !