१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

दार्चुलामा निजाङ्ग खोलाको बाढीले पुल, रेञ्जर पोष्ट र पसलहरु बगायो, भारत पनि डुबानमा



दार्चुला : लगातारको वर्षाले निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको छ । खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका नागरिक राती नै सुरक्षित स्थानमा सारिएको छ । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । त्यस्तै लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुवानमा परेको छ ।

निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुवानमा परेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुवानमा परेपछि केही कर्मचारी भित्रै फसेको तथा उनीहरुको सकुशल उद्धार गरेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !