१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कम्युनिस्टहरूलाई देउवाको प्रश्न : एमसीसीमा अमेरिकी सेना ल्याउने कुरा कहाँ लेखिएको छ ?



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग ल्याउँदैमा अमेरिकी सेना नेपाल आउने भनेर कम्युनिस्टहरूले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्न आफू तयार रहेको बताए । मंगलवार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभाको भोलि बुधवार शुरू हुने अधिवेशनमा एमसीसी टेबल गर्ने सरकारको तयारी रहेको बताए । यसबारे संसदमा पर्याप्त छलफल हुने र पारित गर्नुपर्ने उनले बताए ।

‘एमसीसी आर्थिक सहयोग हो, देशको विकासका लागि ल्याउन खोजेको हो । एमसीसी अनुमोदन गर्दा अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइयो, त्यस्तो कहाँ लेखिएको छ ?’ देउवाको भनाइ उदृत गर्दै एक सांसदले भने ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा छँदा एमसीसी अनुमोदनको कुरा गरेको र प्रतिपक्षमा पुग्ने बित्तिकै विरोध गरेको आरोप लगाए ।

‘सरकारमा छँदा एउटा कुरा गर्ने, सरकार बाहिर गएपछि भातृ संगठनलाई सडकमा उतार्ने ? राजनीति गर्नेले यस्तो दोहोरो कुरा गर्न मिल्छ ?’ देउवाले भने ।

देउवाले देशको विकासका लागि यसअघि आफू प्रधानमन्त्री रहेको समयमा एमसीसीमा हस्ताक्षर भएको र यो देशहितको पक्षमा रहेको दाबी गरे । ‘एमसीसीबाट नेताहरूले पैसा खाए भनेर आरोप लगाइएको छ, कुनै देशले व्यक्तिलाई पैसा दिन्छ ?’ देउवाले आक्रोशित हुँदै प्रश्न गरे ।

देउवाले संसदमा बुझेकाले मात्र एमसीसीबारे बोल्न र नबुझेकाले नबोल्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा एमसीसी पास गर्नेबारे सहमति जुटाउने समेत दाबी गरे । संसदीय दलको बैठकमा सांसद डा. नारायण खड्काले एमसीसीबारे उठेका भ्रम निवारणको कोसिस गरेका थिए ।

कांग्रेस संसदीय दलको बैठकले संसदको बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप लगाउने निर्णय गरेको छ । पार्टीको अधिवेशनको लागि सांसदहरू जिल्लामा गएकाले जिल्लाका कार्यक्रम छोट्याएर संसदको बैठकमा आउन निर्देशन दिने निर्णय भएको एक सांसदले बताए ।

बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि शुरू हुने संसदको अधिवेशनमा पेश गरिने विधेयक र अध्यादेशबारे जानकारी गराएका थिए । -लोकान्तर


प्रतिक्रिया दिनुहोस !