१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

महादेवको पूजा अर्चना गरी हिन्दू महिलाहरूले हरितालिका तीज मनाउँदै



काठमाडौं । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्ने गरेका छन् । यद्यपि कोरोना महामारी रहेकाले तीजको दिनमा भीडभाड नगर्न चिकित्सकको सुझाव छ ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् । आफूले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दू नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् । यसैबीच तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !