२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

एमाले सांसदले टोक्दा मर्यादापालक घाईते, माइक झिकेर अर्थमन्त्रीको टाउको फुटाउने प्रयास असफल



काठमाडौं । शुक्रबार प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले रमिता देखाइदिए । संसदीय मर्यादा कायम गर्न भन्दै उनीहरुले नाराबाजी मात्रै गरेनन् कुर्सी फोड्नेदेखि माइक भाँच्नेसम्म्का अराजक गतिविधि गरे । सभामुख अग्नि सापकोटाले दिउँसो १ बजे बैठ बोलाएका थिए । राष्ट्रिय गान पछि बैठक सुचारु नगर्दै एमाले सांसदहरु रोष्टम घेर्न दौडिई हाले । एमालेकी सचेतक शान्ता चौधरी सबैभन्दा पहिले दौडिएर रोष्टम घेर्न पुगेकी थिइन् ।

महेश बस्नेत, निरु पाल लगायत पूर्व युवा संघका नेताहरुले नाराबाजी मात्रै गरेनन् सांसद पदम गिरी लगायतहरु मर्यादा पालकमाथि नै चढ्ने कोशिस गर्थे । सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले पनि कारबाही गर्नुपर्ने माग राख्नै एमालेले संसद अवरुद्ध गर्दै आएको हो । शुक्रबार पनि उनीहरुले सोही विषयमा चर्को नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुले शुक्रबारको बैठकमा सभामुखलाई औँला ठडाउँदै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, विधिको शासन लागु गर, कानुनी सर्वोच्चको लागु गर जस्ता नारा लगाएका थिए । तर, सांसदमाथिको कारबाही सर्वोच्च अदालतमा विचाराधिन छ । उक्त मुद्दा बारे संसदमा छलफल समेत गर्न नपाईको कानुनी व्यवस्था छ । यद्धपी एमाले सांसदहरुले कानुनी मर्यादा पालना गर्न भन्दै संसद अवरुद्ध गरिरहेका छन् ।

शुक्रबारको संसदमा भने अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधयक मार्फत बजेट समेत ल्याए । विधयक लिएर संसद जान लागेका शर्मालाई रोक्ने कोशिस गरेपछि उनी दौडिएरै रोष्टममा पुगेका थिए । यता एमाले सांसदहरु भने ६ तहको मर्यादा पालकमाथि चढ्नेदेखि माइक भाँच्ने सम्म गर्न पुगे । सांसदहरुले केही मर्यादा पालकको हातमा टोकेको समेत पाइएको छ । एमाले सांसदको टोकाईबाट एक जना मर्यादा पालक गम्भिर घाइते भएको प्रहरी विशेष सुरक्षा स्रोतले जनाएको छ । ‘नाराबाजी भइरहेका बेला एक जना सांसदले हाम्रा एक मर्यादापालकको हातमा टोकेको समेत पाइयो । उहाँको टोकाइबाट एकजना साथी गम्भिर घाइते हुनु भएको छ । उहाँलाई सामान्य औषधी लगाइको छ,’ प्रहरी स्रोतले भन्यो ।

उनको भनाई पुष्टि गर्ने तस्विर समेत फेला परेको छ । कान्तिपुर दैनिकका लागि अंगद ढकाले कैद गरेको तस्विरमा एमाले सांसदले मर्यादा पालकलाई टोकेको स्पष्ट देख्न सकिन्छ । शुक्रबारको संसद बैठकमा एमाले सांसद रेखा कुमारी झाले गृहमन्त्रीको माइक झिकेर अर्थमन्त्रीको टाउको फुटाउने कोशिस समेत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !