२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

तारा होटलमा सीआईबीको छापा, ९३ लाख नक्कली नोटसहित ५ जना पक्राउ



बारा । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । शनिबार ९३ लाख नक्कली रुपैयाँसहित निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ ।

काठमाडाैंबाट गएको व्युरोको टोलीले निजगढस्थित होटेल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेकाे थियाे भने  थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर-२ बाट शनिबार दिउँसो ३ बजे पक्राउ गरेकाे थियाे ।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाडाैंबाट सिधै निजगढ पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र इलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठूलो संख्यामाको व्युरो टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ हानेकाे थियाे ।

छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएकाे थिएन । सर्वसाधारणलाई होटलअगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए ।

व्यूरोको टोलीले छापामारी थालेपछि मात्रै इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन् । ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भने । ‘गाउँले र सर्वसाधारणले आफूलाई फोन गरेर सोधखोज गर्न थालेपछि मात्रै थाहा भयो ।’

इलाका प्रहरी कार्यालयको टोली शनिबार दिउँसो १२ बजेपछि मात्रै होटलमा पुगेको थियाे । होटलबाट नियन्त्रणमा लिएका ३ जनालाई साथमा लिएर गुजरातर्फ लागेको व्युरोको टोलीले रकमसहित थप २ जनालाई नियन्त्रणमा लिएको थियाे ।


प्रतिक्रिया दिनुहोस !