१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नयाँ लाइसेन्स आवेदन तिहारपछि मात्रै खुलाउने तयारी, ७० अंक प्रणाली तत्काल लागु नहुने



गत भदौ २० गतेदेखि सवारी अनुमति पत्र लाइसेन्सका लागी ट्रायल परीक्षा सञ्चालन भएपनि नयाँ आवेदन भने तत्काल नखुलाउने निर्णय भएको छ ।

यातायात व्यवस्था विभागले पुराना रोकिएका लाइसेन्स आवेदन तथा लिखित दिएर बसेका सेवाग्राहीको प्रयोगात्मक परीक्षा नसकी नयाँ आवेदन खुल्ला नगर्ने जनाएको हो ।

गत बर्ष काेरोना महामारीले १० महिना बन्द भएर चार महिना खुलेपछि लाइसेन्स अवेदन तथा ट्रायल परीक्षा दिन सेवाग्राहीको चाँप अत्याधिक छ । सोहि ४ महिनामा १० लाख बढी सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन्।

तर, सोहि समयमा लिइएको आवेदन थेग्न उपत्यकाका यातायात कार्यालय तथा यातायात व्यवस्था विभागलाई हम्मेहम्मे परेको छ ।

सोहि अवधिमा ट्रायल परीक्षा र लाइसेन्सका लागी आएको आवेदनको चाँप बढी भएकाले विभागले तत्कालै नयाँ अनलाइन तथा भौतिक रूपमा सवारीचालक अनुमति पत्र आवेदन खुलाउन नसकेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।

कोरोनाको दोस्रो लहरका कारण बैशाख १६ देखि भएको निषेधाज्ञाले अधिकांश आवेदन रोकेको थियो । हाल तिनै लिखित दिएर बसेका, यातायात भिजिट डेटा पाएका तथा ट्रायल परीक्षाको लागि समय लिएका सेवाग्राहीकाे ट्रायल परीक्षा सञ्चालनमा छ ।

यातायात व्यवस्था विभागका अनुसार यस्ता सेवाग्राही चार लाख हाराहारीमा रहेकाको ट्रायल परिक्षा सञ्चालनमा छ । अर्को तर्फ नयाँ लाइसेन्सका लागी मात्रै अनलाइनबाट १० लाख बढीले आवेदन दिएका छन ।

विभागले उपत्यकाका यातायात कार्यालयहरुसँगको छलफलमा आगामी मंसिर भित्र पुरानो सवारी चालक अनुमति पत्र आवेदनको ट्रायल परीक्षा सक्ने र त्यसपछि मात्रै नयाँ आवेदनको लागी ढोका खोल्ने विभागका निर्देशक भुसालको भनाई छ ।

कारोना भाइरस महामारीका लागी जोखिम रहेको भन्दै यातायात कार्यालयले सीसीएमसीको निर्णय अनुसार ५० प्रतिशत मात्रै सेवाग्राहीलाई राखेर सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

नयाँ तथा पुराना गरेर हाल नेपालमा १५ लाख हाराहारीमा स्मार्ट लाइसेन्सको पर्खाइमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

अंक प्रणाली पनि अन्योल

यातायात व्यवस्था विभागले गत बैशाखमा सवारीचालक अनुमति पत्र निर्देशिका २०७८ जारी गर्यो सवारी चालक अनुमति पत्र ट्रायल परीक्षामा अंक प्रणाली पनि केहि समयको लागी स्थगित भएको छ ।

सवारीचालक अनुमति पत्र सम्बन्धी निर्देशिका आउनुभन्दा अघिदेखिकै आवेदन र पहिलाकै ट्रायल प्रणालीमा आधारित भएकाले अब दिने आवेदकको हकका मात्रै सो प्रणाली लागु हुने भएको हो ।

अहिले परीक्षाका लागि प्रक्रिया पूरा गरेर बसेका सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यविधि २०६० (संशोधनसहित) अनुसार परीक्षा दिनका लागि फारम भरेका छन । जसले गर्दा तत्काल नयाँ प्रावधान लागु नगर्ने भएको हो ।

विभागले अब नयाँ ट्रायल प्रणालीको लागी नयाँ फारम भर्नेहरूको हकमा भने प्रयोगात्मक परिक्षामा अंक प्रदान लागु गर्ने र पास/फेलको निर्णय गर्ने गरी विभाग लागिपरेको छ ।


प्रतिक्रिया दिनुहोस !