१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बुधबारदेखि सरकारले खर्च गर्न नपाउने, राजश्व संकलन भने हुने



बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभामा नेकपा(एमाले)को नियमित अवरोधका कारण बैठक नियमित रुपमा सञ्चालन हुन नपाउँदाको असर बजेटमा परेको छ ।

गत जेठ १५ गते सरकारले अध्यादेश मार्फत ल्याएको चालु आवको बजेट ६० दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्ने थियो । त्यो समयसीमा भनेको भदौ ३० गतेको हो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसदमा पेश गरिएको थियो । एमालेको चर्को नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए ।

मंगलबार विचार गरियोस् भन्ने सैद्धान्तिक प्रस्ताव मात्रै स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गतेका लागि मात्रै राखिएको छ । यस आधारमा भदौ ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने समयसीमा घर्किएको छ ।

तोकिएको समयभित्र बजेट पारित हुन नसक्दा अब सरकार स्वतः नै बजेट होलिडेमा पर्ने भएको छ । त्यो भनेको सरकारले राजश्व उठाउन पाउँछ, तर बजेटमा समावेश भएका कुनै पनि शीर्षकमा खर्च गर्न पाउने छैन । केही दिन सरकारलाई राज्यकोषबाट खर्च गर्न रोक लाग्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !