१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा



गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले संघको २०२१/२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन । उनले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् ।

‘पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिन्छौ । यो एउटा इतिहास रहनेछ । अर्को महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्,’ थापाले भनिन् ।

परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिइन् । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने उनले बताइन् ।

उनले आफू निर्वाचित भएको खण्डमा एनआरएनमा आवद्ध हुने संख्या १५ लाख पुर्‍याउने दाबी गरिन् । अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेण्डालाई प्रमुखताका साथ उठाउने उनको भनाई छ ।

उनले विदेशमा हासिल गरेका सीपलाई नेपालमा ल्याई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन् । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन् ।

घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका थापासहित बेलायतका कूल आचार्य र रसियाका डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !