१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवाहरु पक्राउ



काठमाडौं । पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ ।  नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले रामेछापका सञ्जीव खड्का, हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ र देव तामाङसहित १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदिप यादव र रामेछापका शंकर कठायत छन् ।

चोरीमा संलग्न समूहले राती घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।  घिउ फलको रुपमा परिचित एभोकाडो काभ्रे घर भएका देव तामाङको योजनामा विगत ३ वर्षदेखि काठमाडौंका घर कम्पाउन्डबाट चोरी हुँदै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

दुई समूहमा रहेका आरोपीहरुले बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट चोरी गरेको थाहा भएको छ ।  बजार मूल्य ३५० देखि ४ सय रुपैयाँ प्रतिकेजी रहेको एभोकाडो उनीहरुले १५० देखी २०० मा फलफुल पसलमा बेच्ने गरेका थिए । चोरीमा संलग्नहरुले राति ११ बजेपछि ५ बजेसम्म चोर्ने र बिहान ६ बजेभित्र पसलमा बेच्ने गरेका थिए । एभोकाडो किन्ने बानेश्वर क्षेत्रका ८ ओटा फलफुल पसलेमाथि पनि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

पूर्व आईजीपीको सूचनापछि पक्राउ

काठमाडौंमा लामो समयदेखि एभोकाडो चोरी हुने गरेपनि कसैले प्रहरीलाई जानकारी गराएका थिएनन् । पूर्व आईजीपी बोहराले आफ्नो घर कम्पाउण्डको एभोकाडो चोरिएको जानकारी प्रहरीलाई दिएपछि त्यसबारे अनुसन्धान शुरु गरिएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरीहरूले शान्तिनगरमा सटर फुटाउँदै गरेका सञ्जीव खड्कालाई पक्राउ गरे । उनको गोजीमा एउटा एभोकाडो भेटियो । उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरी चोरीमा संलग्नहरुको जरोमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !