५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

ओली मभन्दा जुनियर हुन्, अब एमालेमा बसिदैन : वामदेव गौतम



काठमाडौं । नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो । नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए । केपी ओलीको नेतृत्वमा आफू बस्न नसक्ने उनले दोहोर्याए । नेता गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको बताए । उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ । पार्टीमा लागेको हिसाबले पनि जेठो हो । नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन ।’

वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमले बताए । उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ । नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !